पोखरा । रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत रोटरी क्लब अफ पोखरा न्यूरोडको १७ औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न भएको छ।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरीप्रसाद ढकालले रोटरी वर्ष वर्ष–२०२६/०२७ का लागि अध्यक्ष राजकुमार गुरूङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । सोही क्रममा नवनिर्वाचित अध्यक्ष गुरूङले पदाधिकारी र सदस्यलाई शपथ खुवाए।

प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ढकालले रोटरीमा सदस्यको संख्या घट्दै जानुमा क्लबको कल्चरमा भर पर्ने बताए । विदेशका विभिन्न क्लबहरूको उदाहरण दिँदै क्लबको गतिविधि हुनुपर्नेमा उनले जोड दिए । उनले त्यसका लागि युवा सशक्तीकरणमा जोड दिँदै दीर्घकालीन योजना ल्याउनुपर्ने सुझाव समेत दिए।
रोटरी न्यूरोडका अध्यक्ष गुरूङले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरे । पोखरा फाइनान्समा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका गुरुङ विभिन्न संघसंस्थामा पनि उत्तिकै क्रियाशील मानिन्छन्।
क्लबका चार्टर्ड प्रसिडेन्ट (संस्थापक अध्यक्ष) रविप्रसाद बरालले अध्यक्ष गुरूङको परिचय गराउँदै सफल कार्यकालको शुभकामना दिए ।
असिस्टेन्ट गभर्नर विप्लव हमालले पनि रोटरीको महत्व र यसका कार्यबारे बोले । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरे ।
त्यसअघि, रोटरी न्यूरोडका वर्ष २०२५/०२६ का अध्यक्ष अमृतराज बास्तोलाले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै आभार व्यक्त गरे । उनले सहयोगी तथा पोखरा क्षेत्रभित्रका विभिन्न क्लबका अध्यक्षलाई मायाको चिनो प्रदान गरे ।
क्लब एड्मिन चेयर रामविक्रम अधिकारीले प्रमुख अतिथिको बारेमा परिचय गराए ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक क्लब इलेक्ट पुष्पराज पराजुलीले गरे । कार्यक्रम संचालन सचिव वर्षाकेशव पराजुलीले गरे भने धन्यवाद ज्ञापन टिआरएफ चेयर गीता सिग्देलले गरिन् । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष गुरूङको घरपरिवारका सदस्यहरुसमेतबाट क्लबलाई करिब ८० हजार सहयोग प्रदान गरिएको थियो ।



















