पुस १८, काठमाडौं । नेकपाको विभाजन लगत्तै पुरानो नेकपा एमाले व्युँतिएपछि पुनः नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी बनाएका थिए पूर्व प्रधामन्त्री माधव नेपाल र झलनाथ खनालले । नेपाल–खनालले नेतृत्व गरिरहेको सोही पार्टी मंसिर ४ को चुनावमा थ्रेसहोल्ड समेत कटाउन नसकेपछि अप्ठ्यारोमा परेको छ । चुनाव अघिको समीकरण भत्काएर प्रचण्ड पुनः केपी ओलीसँग गठबन्धन बनाएर सरकारको नेतृत्व गरेपछि काँग्रेस माओवादीको भरमा जम्माजम्मी १० संघीय सांसद जितेको एकीकृत समाजवादी थप अलमल र समस्यामा परेको हो ।
गठबन्धन गरेर प्रत्यक्षतर्फ १० सिट जितेको एकिकृत समाजवादीभित्र अहिले सरकारमा जाने कि नजाने भनेर चरम अन्योल सृजना भएको छ। यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धनमा रहेको एकिकृत समाजवादी अहिले गठबन्धन भत्किएसँगै समाजवादीमा जटिलता माथि जटिलता थपिएको हो ।
सरकारमा सहभागी नहुँदा अस्तित्व थप कमजोर बन्न सक्ने आंकलन गर्दै सरकारमा सहभागी हुने विषयमा धेरैको जोड देखिएको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेको तीतो सम्बन्धका कारण खुलेर सरकारमा जान पनि त्यति सहज देखिएको छैन । यद्यपि सरकारलाई समर्थन गर्ने विषयमा पार्टीले सहमति गरिसकेको छ ।
शनिबार र आइतबार बसेको स्थायी समितिको बैठकमा पनि केहि सदस्यले सरकारमा जानुपर्छ भनेका छन् भने केहि जानु हुँदैन भनेका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय अहिलेसम्म गरेको छैन ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको समेत जानकारी गराए । ‘एकिकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज सोमबार बस्दैछ । बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्नेछ ।’ उनले भने ।
अबको रणनीति के हुने ? सरकारमा सामेल हुने वा नहुने आज वस्ने नेकपा एसको वैठकले नै ठोस निर्णय गर्नेछ ।



















