बेनी:निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने सातौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । आगमी पुस २८ गते देखि माघ ७ गते सम्म बेनीमा आयोजना हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।
बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा सघाउन आयोजित महोत्सवको तयारीलाई तीव्र पारिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
‘‘महोत्सवको तयारीलाई तीव्र पारेका छौँ, काठमाण्डौ सम्म पुगेर प्रचार प्रसार गरिएको छ, महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न गठित उपसमितिहरु मार्फत सम्पूर्ण तयारीलाई तीव्रता दिएका छौं ’’–अध्यक्ष कटुवालले भन्नुभयो । महोत्सवका वारेमा बाजरमा तुल,व्यानर टाङ्गे र बुकलेट बनाएर बाड्ने काम भइरहेको उहाँले बताउनुभयो ।
शान्त रुपमा महोत्सव सम्पन्न गर्न जिल्ला स्थित सुरक्षा निकायहरुसंग समेत छलफल र बैठकहरु भैरहेको जनाइएको छ । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार,महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टर मार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि ¥याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।



















