१८ माघ, पर्वत । पर्यटकीय नगर कुश्माको बडागाउँमा आयोजित सातौं पर्वत महोत्सव सातौं दिनसम्म आइपुग्दा करीव ६० हजार जनाले अवलोकन गरेका छन् । महोत्सवमा स्थानीय कलाकारका अतिरिक्त राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहेको छ ।
महोत्सवमा १८ गते पुष्कल शर्मा, चन्द्र शर्मा, शोभा त्रिपाठी, दिपक थापा, रिया खड्का, प्रकाश सपुत र लाहुरेको प्रस्तुती रहेको छ भने भोली १९ गते तेजस रेग्मी, विमलाराज क्षेत्री, शिवहरी ढुंगाना, अस्मिता डल्लाकोटी, समुन्द्र गिरी, अनुराना मगर, गिता पाइजा, ज्योति मगर, लेकाली व्याडको प्रस्तुती रहेको पर्वत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गणेश लामिछानेले जानकारी दिएका छन् ।
महोत्सवमा स्थानीय कला, संस्कृतिको जगेर्नाका अलवा स्थानीय उत्पादनहरुले समेत ठाउँ पाइरहेका छन् । मगर र गुरुङ समुदायको स्थानीय संस्कृति झल्कने खालका नाचगानहरु, स्थानीयस्तरमा गाइने भजन तथा विवाह र जिम्ती मेट्दा गाईने रत्यौली लगायतका नाचगान र स्थानीय संस्कृतिहरु महोत्सवको अर्को आकर्षणको रुपमा रहेका छन् ।
प्रत्येक तीन तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवले स्थानीय कला, संस्कृतिको जगेर्ना र विकास गरेको छ । ‘महोत्सवमा राष्ट्रिय कलाकार मात्र नभई स्थानीय कलाकारहरुले समेत आप्mना प्रतिभा देखाउने अवसर पाएका छन् ।’ पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले भने–‘आज पर्वत महोत्सवमा अवसर पाइरहेका प्रतिभाहरु भोलि देशकै ठूला कलाकार बन्न सक्छन् । त्यसैले महोत्सव स्थानीय उत्पादनका साथै स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने माध्यम समेत बन्दै गइरहेको छ ।’
पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सव माघ २१ गतेसम्म संचालन हुनेछ ।



















