काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ अझै केही समयका लागि कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
उनले विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए । उनीहरूले ‘नो रेमिट्यान्स’ अभियान नै चलाएका छन् । यसपछि बाध्य भएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरू १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रूपमा एकभन्दा बढी ९दोस्रो० मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ ।



















