बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

अब के गर्लान् देउवा ?

‘सभापति पद छाड्ने होइन, देउवाले कांग्रेसलाई पुनः सरकारको नेतृत्वमा पुर्‍याउनुहुन्छ’

गते

  • सुशील पन्त

प्रत्यक्षतर्फ ५७ सीट जितेको पार्टीलाई जिल्याउँदै १८ सीट जितेको पार्टीले सत्ताको चाबी खोसिदिएपछि नेपाली कांग्रेसभित्र यतिबेला कोलाहल मच्चिएको छ ।

चुनावमा पहिलो दल बनेसँगै केन्द्रदेखि प्रदेशसम्म कांग्रेसका सांसदले मन्त्री बन्नका लागि लिगलिगे दौड शुरू गरेका थिए ।पुस १० गते नाटकीय ढंगले विकसित घटनाक्रमका कारण मुलुकमा कम्युनिस्टबहुल सरकार मात्र बनेन कांग्रेस केन्द्रदेखि प्रदेशसम्म जबरजस्त प्रतिपक्षमा धकेलियो । प्रधानमन्त्रीले विश्वासको मत पाएर अहिलेको कोर्स अगाडि बढ्यो भने कांग्रेससँग प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिबाहेक केही पद रहने छैन ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने सुइँको पाएपछि विभिन्न दलका नेता कार्यकर्ता तथा कर्मचारीदेखि व्यापारीसम्म कांग्रेससँग नजिकिएका थिए । शक्ति केन्द्रहरू पनि कांग्रेसको पक्षमा दाहिना थिए ।

मंसिर ४ गतेको चुनावबाट कांग्रेस पहिलो पार्टी बनेपछि पार्टी सभापति शेरबहादुर देउवाले सत्ताबाट बाहिरिने परिकल्पना गरेका थिएनन् । प्रधानमन्त्री निवास बालुवाटार या विकल्पमा शीतल निवासमा बास सुरक्षित नभएको भए देउवाले यो बेला बूढानीलकण्ठस्थित निवास रंगरोगन र मर्मत गर्न किन लगाउँथे ?

बूढानीलकण्ठ या बालुवाटारभन्दा अन्य ठाउँमा बस्नु नपरेका देउवाले अकस्मात् डेरा खोज्नुपर्‍यो । बालुवाटारबाट बूढानीलकण्ठ नगई धुम्बराहीमा डेरा सर्नुपर्ने परिस्थिति देउवाका लागि अर्को अनपेक्षित विषय थियो । कांग्रेसको हातबाट सत्ता गुमेपछि देउवाको कुनै प्रतिक्रिया आएको छैन, तर उनको भावभंगीबाट बेचैनी बुझ्न सकिन्छ ।

जसको भर्‍याङ चढेर सत्ताको सिंढीमा पुगेका थिए, उसैले साथ छाडेपछि मर्माहत बनेका देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ समारोहमा पुगे पनि अनुहारमा छटपटाहट देखिन्थ्यो । औपचारिक कार्यक्रममा सहभागी भए पनि उनी धेरैबेर शीतलनिवासमा बसेनन् । कम्युनिस्टलाई सत्ताको चाबी बुझाएको अपजस देउवाले व्यहोरिरहनु परेको छ ।

आँगनमा आएको सत्ता गुमेपछि नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवाको राजीनामा माग गर्न शुरू भएको छ । नेविसंघका पूर्व सभापति समेत रहेका गुरुराज घिमिरेले सामाजिक सञ्जालमा सन्देश लेख्दै देउवाले सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । अन्य नेताहरूले पनि नेतृत्वको आलोचना गरिरहेका छन् ।

संस्थापनइतर समूह पुस २२ गतेदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा देउवाको राजीनामा माग्ने तरखरमा छ । तर देउवा समूह भने प्रतिरक्षाका लागि तयार छ ।  केन्द्रीय समितिमा ८० प्रतिशत केन्द्रीय सदस्य रहेका देउवा पार्टीभित्र सुरक्षित छन् । अपजसको भागी पनि छन् ।

देउवा संसदीय दलको नेता भएको तीन दिनमै सत्ताको बागडोर कम्युनिस्टको काँधका पुग्यो । यो अवस्था आउनुमा देउवा मात्र दोषी छैनन्, किचेन क्याबिनेटका नेताहरू उत्तिकै जिम्मेवार रहेको यो समूहका नेताहरू बताउँछन् । आफ्नो दुनो सोझ्याउन जसो पनि गर्न सिपालु प्रचण्डको चतुर्‍याइँ देउवाले ठम्याउन सकेनन् ।

जसरी पनि पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने प्रचण्डको महत्त्वाकांक्षा बुझ्न देउवाले ढिलो गरे । जतिबेला बुझे, त्यतिबेला कोर्स अन्तै गइसकेको थियो ।

अब के गर्लान् देउवा ? 

माओवादीसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विवाद चलेका बेला गत असार २९ गते केन्द्रीय समिति बैठकमा देउवाले आफूलाई जिस्क्याएमा तेस्रोपटक सभापतिमा लड्ने बताएका थिए । ‘फेरि सभापति हुन मलाई रहर छैन । तपाईंहरूले यसरी जिस्क्याउनुभयो भने विधान संशोधन गरेर भए पनि तेस्रोपटक सभापति बन्छु,’ देउवाले झोक्किँदै भनेका थिए ।

२०७४ सालको चुनावमा पार्टीको पराजयपछि कांग्रेसमा ‘अर्ली महाधिवेशन’को माग गर्दै केही युवा नेताले अभियान चलाएका थिए । तिनैमध्ये केहीलाई पछि देउवाले आफ्नो पक्षमा तानेका थिए ।

कांग्रेसले सत्ता गुमाएको झोकमा संस्थापनइतर समूहका नेताहरूले राजीनामा माग गरे पनि देउवाले गल्ने छाँट देखाएका छैनन् । राजनीतिमा कहिलेकाहीँ यस्तो हुने भन्दै उनले परिस्थिति नियाल्न निकट नेताहरूलाई भनेका छन् ।

देउवानिकट कतिपय नेताहरू प्रतिनिधिसभाको यही कार्यकालमा कांग्रेसले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरिरहेका छन् । ‘२३ सीट जितेर पनि प्रधानमन्त्री पद देउवालाई खोज्दै आएको हो, अहिले त हामी ५७ सीट जितेको पार्टी हौं । धैर्य गर्नुस् न !’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे कसैले माग्दैमा देउवाले सभापति या संसदीय दलको नेताबाट राजीनामा नगर्ने बताउँछन् । ‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा गर्न केन्द्रीय समितिको बैठक बस्दैछ, त्यहाँ सबै विषयमा छलफल होला,’ आङदेम्बेले शुक्रवार लोकान्तरसँग भने, ‘तर कसैले लहडमा माग्दैमा देउवाले राजीनामा गर्ने कुरा हास्यास्पद हो ।’

देउवालाई हटाउन विशेष महाधिवेशन माग गरेका नेतालाई केन्द्रीय समितिबाट प्रस्ताव पारित गरेर देखाउन उनले चुनौती दिए । कांग्रेसका अर्का एक केन्द्रीय सदस्यले संस्थापतइतर समूहका नेताहरूको अराजनीतिक क्रियाकलापबारे बैठकमा छलफल हुने बताए ।

‘कांग्रेसले सत्ता गुमाउँदा पार्टीका महामन्त्रीहरूले हर्षबढाइँ गरिरहेका छन् । अहिलेको परिस्थिति निर्माण हुनुमा उनीहरू पानीमाथिको ओभानो बन्न मिल्छ ?’ ती नेताले प्रश्न गरे ।

केन्द्रीय सदस्य शंकर भण्डारी अहिले उठिरहेका सबै विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने भन्दै नेताहरूले बाहिर सभापतिको राजीनामा माग्ने कुरा गर्नु अराजनीतिक भएको टिप्पणी गर्छन् ।

‘चुनावको समीक्षा र सरकार गुमाउनु परेपछिको अवस्थाका बारे केन्द्रीय समिति बैठकमा छलफल गरेर एउटा निर्णयमा पुग्नुपर्छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘पार्टी अनुशासन बिर्सेर जेपायो त्यही बोल्ने छूट कसैलाई छैन ।’

नेता भण्डारी महामन्त्रीलगायत कतिपय पार्टी पदाधिकारीको कार्यशैली गलत भएको बताउँछन् ।

‘पार्टी सभापतिको जिम्मेवारी एउटा पक्ष होला, अरू पदाधिकारी के हेरेर बसे ? यति ठूलो केन्द्रीय समिति र यति धेरै पदाधिकारी किन चाहियो ?’ भण्डारीले प्रश्न गरे ।

संस्थापन पक्षकै कतिपय नेताहरू देउवा निकटका व्यक्तिहरूले नै देउवालाई डुबाउने काम गरेको आरोप लगाउँछन् ।

‘सभापतिज्यूलाई घेराबन्दी गरेर राखेको एउटा तप्का छ, चुनावमा आफू नलड्ने उनीहरूले सभापतिलाई गलत सल्लाह दिइराखेका छन्,’ देउवा समूहका एक केन्द्रीय सदस्यले भने ।

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीभित्रका कमजोरीबारे केन्द्रीय समिति बैठकमा निर्मम ढंगले छलफल हुने बताउँछन् ।

‘कांग्रेसको हातबाट सत्ता गुम्नुमा घरमूलिको हैसियतले पार्टी सभापतिबाट कमजोरी भएको छ, के यसमा देउवाको मात्र कमजोरी छ ? अरूबेला भेला गरेर दबाब सिर्जना गर्नेहरू कहाँ थिए ?,’ खतिवडाले प्रश्न गरे ।

के होला शेखर–गगन–विश्वप्रकाशको रणनीति ? 

काठमाडौंमा देउवाले सत्ता गुमाउँदै गर्दा संसदीय दलको निर्वाचनमा एक ठाउँमा उभिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए ।

महामन्त्री थापाले संसदीय दलमा हारे पनि देउवाको हातबाट सत्ता फुत्किँदा सन्तोष महसूस गरेको अभिव्यक्ति दिएका थिए ।

गगनको सो भनाइलाई लिएर कांग्रेसकै संस्थापन इतर समूहमा असन्तुष्टि चुलिएको छ । देउवाले सत्ता गुमाउनु र कांग्रेस प्रतिपक्षमा पुग्नु फरक विषय भएको उनीहरूको बुझाइ छ ।

‘प्रचण्डले धोका दिएर एमालेसँग मिल्न जानु बेग्लै कुरा हो, तर कांग्रेसलाई पहिलो दल बनाएको कुरा बिर्सन मिल्दैन,’ ती नेताले भने ।

कांग्रेसको हातबाट सत्ता फुत्केपछि कार्यकर्तालाई सान्त्वना दिन नेता शेखर कोइरालाले एउटा विज्ञप्ति जारी गरेका थिए, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन’ । कोइरालाले अहिलेसम्म देउवाको राजीनामा मागेका पनि छैनन् ।

संसदीय दलमा एक ठाउँमा उभिएका गगन–विश्वप्रकाश केन्द्रीय समितिमा पनि एक ठाउँमा उभिने सम्भावना छ ।

‘सभापतिज्यूले अहिलेसम्म कांग्रेसको लागि गरेको योगदानका लागि धन्यवाद दिएर अब पार्टी सक्षम युवाको नेतृत्वमा छाड्नुस् भन्ने प्रस्ताव राख्छौं,’ संस्थापनइतर समूहका एक केन्द्रीय सदस्यले भने ।

(लोकान्तरबाट सुशील पन्तले गरेको राजनैतिक टिप्पणी)

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img