पर्वत । पिपलटारी युवा क्लवद्वारा आयोजित वडास्तरीय खुल्ला भलिवल प्रतियोगितामा नववुद्ध युवा क्लव आर्थर डाँडाखर्कले प्रथम पुरस्कार जितेको छ । पुस ३० गतेदेखि कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा शुरु भएको सो प्रतियोगितामा पिपलटारी युवा क्लवलाई हराउँदै नववुद्ध प्रथम भएको हो ।
प्रथम भएको नववुद्ध युवा क्लवले नगद ४० हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने द्वितीय स्थान प्राप्त गरेको आयोजक संस्था पिपलटारी युवा क्लवले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यसैगरी सहारा युवा क्लव, अमलाचौर, बलेवा, बागलुङले तृतीय स्थान प्राप्त गरेको थियो । तृतीय स्थान प्राप्त गरेको सहारा युवा क्लवलाई १५ हजार नगद सहित मेडल र प्रमाण पत्र वितरण गरिएको खेल संयोजक वीर बहादुर नेपालीले जानकारी दिए ।
चार दिनसम्म संचालन भएको सो प्रतियोगिता एक कार्यक्रमका बीच समापन गरिएको थियो । कुश्मा १०, पिपलटारीका वडा अध्यक्ष रामचन्द्र सुवेदीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा भूपू वडा अध्यक्ष सुजन विक, भूपू नगर कार्यपालिका सदस्य देवेन्द्र बहादुर नेपाली, पूर्णेश्वर माविका प्रधानाध्यापक नारायणप्रसाद अर्याल लगायतले आफ्नो धारणा राखेका थिए ।
क्लवका कार्यवहाक अध्यक्ष अजय नेपालीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको स्वागत सचिव नविन नेपालीले गरेका थिए भने संचालन पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका सचिव तथा सोही विद्यालयका शिक्षक सन्तोष पौडेलले गरेका थिए ।
सो प्रतियोगितामा १७ समूहको सहभागिता रहेको थियो ।
नववुद्ध युवा क्लवले जित्यो भलिवलको प्रथम पुरस्कार
गते



















