शुक्रबार, चैत्र ६, २०८२
Friday, March 20, 2026
शुक्रबार, चैत्र ६, २०८२
Friday, March 20, 2026

माहुरीपालनले बदलेको व्यवसायको बाटो

गते

भूमिराज शर्मा (संवाददाता)
पर्वत, २२ वैशाख । जंगलको बीचमा सानो गाउँ । अनि त्यही गाउँको छेउमा चिटिक्क परेको गाउँले घर । घर को कौसी अनि बारी भरी मौरीका घार । माहुरी भुनभनाइ रहेको आवाज । चैतको टन्टलापुर घाममा उमेरले ६ दशक नाघि सकेका टिकाराम तिमिल्सना एकआपसमा लडी रहेका माहुरीहरुलाई मिलाउन खोज्दै थिए । पाती मिचेर घारको प्रबेशद्धारमा राखी रहेका थिए ।
बिहानी मिर्मिरे देखि गोधुली साँझ सम्म माहुरीको हेरचाहमै समय बिताउनु मोदी–२ देउपुरस्थित दोबाटाका टिकाराम तिमिल्सिनाको दिनचर्या हो । उनी बेलाबेलामा माहुरीलाई पानीले छर्किन्छन् । जुटको बोरा भिजाउँछन् र घार माथि राख्छन् । गोलाहरु निरक्षिण गर्छन् । कुनै बेला माहुरी भाग्न खोज्दा प्रहरीले झैँ पहरा दिन्छन् । घारहरुको बीचमा उनी नै रानो जस्तै भएर बस्छन् । उनको व्यावसायमा श्रीमती र छोराबुहारीले समेत सहयोग गर्ने गरेका छन् ।
२०५७ सालबाट महभीर ब्याबसायिक माहुरीपालन तथा स्रोत विकास केन्द्र नामक संस्था स्थापना गरी व्यवसायिक रुपमा काम गर्न थालेका उद्यमी तिमिल्सिनाको मुख्य आम्दानीको स्रोत नै माहुरी पालन हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालय र लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसाय शुरु गरेका तिमिल्सिनाको घरमा अहिले छ दर्जन भन्दा बढी मौरीका घार छन् । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाएका छन् ।
सुन्तला छोडेर माहुरीपालन तर्फ
तिमिल्सिनाले सोही स्थानमा तीन सय भन्दा बढी सुन्तलाका बोटहरु लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाएका थिए । तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखे पछि उनी माहुरी पालन तर्फ आकर्षित भएका हुन् । उनले आफ्नो घरको आँगनमा केही मौरी पाल्न थाले । जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै गए । अहिले उनले उत्पादन गर्ने मह र माहुरीका घारहरुको स्थानीय बजारमा छुट्टै माग हुने गरेको छ ।
पहाडी भेगमा अनुकूल हुने एपि सेरेना जातको मौरी पालेका तिमिल्सिना यो व्यावसायवाट गतिलो कमाई गर्न सफल भएको बताउँछन् । कृषक तिमिल्सिना भन्छन् – ‘ यहाँ उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिड्नु पर्ने अवस्था छैन । माग अनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन । ’ उनले मह मात्र बिक्रि गर्दैनन् मौरीको घार र गोला समेत विक्रि गर्ने गरेका छन् ।
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँ पालिकाको समन्वयमा यस बर्षमात्रै उनले एक सय भन्दा बढी माहुरीका घारहरु बिक्रि गरेका छन् ।
माहुरी पालनले निम्त्याएको खुशी
तिमिल्सिना जिल्लाकै नमूना मौरी पालक कृषक हुन् । कुस्मा, बाग्लुङ, पोखरा, काठमाडौं, चितवन, बुटवललगायत बजारमा उनले उत्पादन गरेको मह ब्रान्ड बनिसकेको छ । उनको माहुरी पालन फार्म अवलोकन गर्न बिभिन्न ठाउँबाट कृषक समूहहरु आउने गरेका छन् । कृषि ज्ञान केन्द्रको समन्वयमा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा माहरीका घारहरु आफैले पुर्याउने गरेको तिमिल्सिना बताउँछन् । उनले २०७१ सालको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरे भने जिल्ला तथा स्थानीय तहबाट पटकपटक बिभिन्न पुरस्कारहरुबाट समेत पुरस्कृत हुँदै आएका छन् ।
सुन्तला खेतिले निराश बनाएको तिमिल्सिनाको मुहारमा माहुरी पालनले खुशी ल्याइदिएको छ । बिभिन्न कृषक समूहहरुका लागि उनी माहुरी सम्बन्धी बिज्ञका रुपमा समेत परिचित छन् । उनले तालिम तथा कृषि सम्बन्धी कार्यक्रमहरुमा स्रोत व्यक्तिका रुपमा सेवा तथा परामर्श दिँदै आएका छन् ।
माहुरीपालनका चूनौति
पछिल्ला बर्षहरुमा माहरीपालनमा पनि चुनौतीहरू देखा परिरहेको तिमिल्सिनाको अनुभव छ । उनी भन्छन् – ू माहुरीहरुको चरन साागुरिँदै गएको छ । खेतिबालीमा प्रयोग गरिने रासायनिक तथा किटनाशक पदार्थले गर्दा रोग बढाएको छ । जलवायु तथा मौसम परिवर्तनले मौरीका लागि मुख्य खाद्यान्न स्रोत भएका फूलहरूको उपलब्धतामा पनि असर गरेको छ ।
तिमिल्सनाको अनुभवमा माहुरी पालनमा थपिएको अर्को चुनौति हो जनशक्तिको अभाव । फार्ममा काम गर्ने कामदार पाउनै मुस्किल छ । पाइहाले पनि टिकाउ हुदैनन् । घरकै जनशक्तिले मात्रै काम चलाउनु पर्ने बाध्यता रहेको छ । त्यसकारण पनि उनले फार्म बिस्तार गर्न नसकेको बताए । उनी भन्छन् – ूसायद मेरो गति घटेपछि यो व्यवसाय हराउँछ होला । छोराहरुले यहाँ बसेर व्यवसाय गर्ने सम्भावना मैले देखेको छैन । उनीहरु बिदेश ताकिरहेका छन् । ू
माहुरीपालन : स्वरोजगारको बाटो
बिभिन्न चुनौतीहरुका बाबजुद पनि अन्य व्यवसायको तुलनामा माहुरीपालन कम जोखिमयुक्त रहेको छ । यसले स्वरोजगार सिर्जना गर्न सक्छ । राज्यले उचित ध्यान दिने र सहयोग पुर्याउने हो भने उनी यस क्षेत्रमा मौरीपालनको भविष्यप्रति आशावादी छन् । पर्याप्त जानकारीका साथ व्यवस्थित रुपले गरिने मौरीपालन आयआर्जनको लागि दिगो आम्दानीको स्रोत हुनसक्ने उनको ठम्याइ छ । राज्यले युवाहरुलाई माहुरीपालन तर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने उनको सुझाब रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img