मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

तिमिल्सनाको तेश्रो सफल प्रयास: अथाह जाँगरले सिञ्चित पातिखोला रेन्बो ट्राउट (फोटो फिचर )

माछासँगै भुरा पनि उत्पादन शुरु

गते

पर्वत । ‘सफलता’ जोकोहीलाई प्रिय लाग्ने शब्द हो । तर यो त्यति सजिलै प्राप्त गर्न सकिँदैन । त्यो पनि पटक–पटक । हो, त्यही अप्ठ्यारोमा रहेको सफलताले निरन्तर पछ्याइरहेका व्यक्ति हुन् पर्वतका ‘विकास तिमिल्सिना’ । उनी फरक–फरक सेवा वा पेशा–व्यावसायमा सफलता हात पारिरहेका छन् । सरकारी सेवा र जनप्रतिनिधिको दुवै भूमिका अब्बल सावित भएका उनी यतिखेर भने कृषि पेशामा आफूलाई निखारिरहेका भेटिन्छन् ।

२०५३ सालमादेखि सरकारको ट्राफिक प्रहरीमा रहेर सेवा गरिरहेका पर्वतको मोदी गाउँपालिका वडा नं.–२, देउपुरका विकास तिमिल्सना आफ्नो कार्यावधीभर रातदिन खटेर जनताको सेवामा जुटिरहे । उनीसँग युएन मिसनमा गएर काम गरेकोदेखि चुनौति बन्दै गइरहेको राजधानीको व्यस्त ठमेलको ट्राफिक व्यवस्थापनमा रातदिन खटेर सफलता हात पारेको मिठो अनुभव छ । ठमेलको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेवापत तिमिल्सिना तत्कालीन समयमा अखवारमा पानापानामा रङ्गीए । फलतः उनको कामको मूल्यांकन भयो र २०६७ सालमा नेपालकै सर्वोत्कृष्ट प्रहरी अवार्ड हात पारे ।
शहरमा मात्र होइन जागिरको शिलशिलामा उनी गाउँगाउँका वृद्धवृद्धादेखि विद्यालयका बाबुनानीसम्मलाई सडक सचेतना दिलाउँदै हिँडे । उनी पर्वतमा सेवारत रहेकै बेला पोखरा–बागलुङ क्षेत्रमा चुनौति बन्दै गइरहेको ट्राफिक समस्या समाधान र यस क्षेत्रका सडकको अवस्था र स्तरोन्नतिका सवलामा सरकारका तालुकदार निकायसँग अनुरोध गरे, पहल लिन आग्रह गरे अझ भनौं एउटा ट्राफिक प्रहरीको हैशियतले मिलेसम्म घच्घच्याए । जसका कारण उनी जहाँजहाँ गए त्यहाँ त्यहाँ केही न केही परिवर्तन गराएरै छाडे । सधैंजसो व्यस्त देखिने उनी यी र यस्तै कर्मप्रति इमान्दार भएरै जागिरे जीवनबाट सेवा निवृत्त भए ।
जनताको प्रिय हुन र वाहवाही पाउन कुनै ठुलो पदमा पुग्नु पर्दैन भन्ने सत्य आम सर्वसाधारणका सामु उनले प्रमाणित गरिदिएका छन् । आफ्नो कर्मप्रति सदैव इमान्दार रहने उनै तिमिल्सनाको जीवनमा यो पहिलो अनि मीठो सफलता थियो ।
सरकारी सेवाबाट खुसीसाथ विदाइ भएका उनै तिमिल्सना २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मोदी गाउँपालिका वडा नं. २ देउपुरको वडाध्यक्षमा उमेदवारी दिने अवसर पाए । जीवनभर राजनीति गरेका पार्टीका अग्रज नेताहरुलाई सर्लक्कै पन्छाएर नेकपा एमालेको तर्फबाट उमेदवार बनेका उनलाई ‘जागिरे मान्छे’ राजनीतिमा आयो भनेर विरोधका स्वर उचाल्नेहरु नभएका पनि होइनन् । तर उनको मसिनो गरी काम फत्ते गर्ने र जनमानसमा राम्रैसँग भिज्न सक्ने कार्यशैली बुझेको एमाले पंक्तिले उनलाई देउपुरको उमेदवार बनाइ छाड्यो । उनले भारी मतान्तर सहित चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सफल भए ।
यस अघि सधैं नेपाली काँग्रेसको गढ भनेर चिनिएको देउपुरमा उनको पालामा एमालेले बाजी मार्यो । उनको शालीन बोली–व्यवहार र कार्यशैलीले अन्नतः देउपुरमा एमालेको झण्डा फहराउने सफलता र जस उनलाई मिल्यो । यो उनको राजनीतिक जीवनमा प्रवेश गरेपछिको अर्को सफलता थियो । उनी वडाध्यक्ष भएपछि देउपुरका सानातिना समस्या आफै घरघर र टोलटोलमा गएर समाधान गरिदिन्थे । उनको वडाले पाँच वर्षमा विकासमा धेरै फड्को मारेको स्थानीयहरु बताउँछन् । धेरैले उनलाई ‘नाम अनुसारको काम गर्ने मान्छे’ भनेर पनि भन्ने गर्दछन् । उनी जनप्रतिनिधि भएपश्चात पालिकाले उनकै अगुवाईमा मोदी गाउँपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया शुरु गर्यो । आफू स्वयंले चन्दा दान गर्दै अरुलाई समेत कन्भिन्स गरेर पालिकालाई जग्गा उपलब्ध गराउन उनको योगदान महत्वपूर्ण छ । अहिले पालिका कार्यालय सोही जग्गामा निर्माण भई संचालनमा आएको छ ।
आम पर्वतेलीहरुका बीच उनी ‘जहाँ हात हाल्यो, त्यहीँ सफलता हात पार्ने मान्छे’का रुपमा समेत परिचित छन् । लाग्दछ, ग्रहमा विश्वास गर्नेहरुका लागि उनको यो कर्मले गतिलो झापड हानिरहेको छ । अर्थात् ग्रहमा होइन कर्ममा विश्वास गर्न सिकाइरहेको छ ।
उनै कर्मशील तिमिल्सनाले यतिबेला भने जागिर जीवन र जनप्रतिनिधिको अलग–अलग भूमिकाबाट पर रही कृषी कर्ममा जुटिरहेका छन् । विहान–बेलुका र आवश्कयतानुसार सामाजिक काममा दिलो ज्यान दिएर हिँड्ने उनी पछिल्ला वर्षहरुमा आफ्नो जाँगर र सीप खोलाखोल्सामा सुन फलाउनमै विताइरहेका भेटिन्छन् ।
चारैतिर बन र दुईतिर खोलाको बीच भाग । तिनै खोलाको गड्गडाहटबीचमा तिमिल्सिनाको अर्गानिक माछा फर्म देख्न सकिन्छ यतिबेला । तिमल्सिना केहीवर्ष यता ग्रामीण इलाका अन्तर्गत पर्ने मोदीखोला रेम्बो ट्राउटलाई आफ्नो पसिनाले सिन्चित गरिरहेका छन् । पर्वतको पोखरा बागलुङ राजमार्ग अन्तर्गत पातिखोला बजारबाट ४० मिनेटको सवारी यात्रामा पुग्न सकिने उनको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।
उनको फर्म यतिबेला विभिन्न क्लवहरु, संघसंस्था, विद्यालय तथा कलेजका विद्यार्थीहरु एवं कृषकहरुका लागि गतिलो अध्ययन, अवलोकनको थलो बन्दै गइरहेको छ ।
देशमा केही सम्भावना नदेखेर विदेश जान पासपोर्ट हातमा लिएर उचालिएका युवा युवतीहरुका लागि तिमिल्सना थप प्रेरणाको श्रोत बन्न सक्छन् ।
गाउँको चिसो, स्वच्छ, सफा पानीमा स्थानीय स्वादमा पाइने उनको फर्मको माछा यतिबेला पोखरा–काठमाडौंका माछा पारखीहरुका पुर्याउन भ्याई–नभ्याई छ ।
करीव ३० रोपनी क्षेत्रफलमा मोदी–५ बाजुङ, टिमुरे अन्तर्गत रहेको उनको फर्ममा हाल ५ जनाले रोजगार पाइरहेका छन् । २०७१ सालबाट शुरु भएको उक्त फर्म शुरुमा यामप्रसाद शर्मा लगायतका व्यक्तिहरुले संचालन गरेका थिए ।
केही वर्ष अघि आएको बाढीले फर्म पुर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी ५ जनाले सामुहिक लगानीमा पुनः नयाँ जग्गामा फर्म संचालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा विकासकै काँधमा रहेको छ ।
संचालक यामप्रसाद शर्मका अनुसार प्रतिवर्ष करीव सवा करोडको हाराहारीमा खर्च हुने गरेको छ भने आम्दानी एककरोड तीस लाखको हाराहारीमा हुने गरेको छ । उनका अनुसार यो क्रम सधैं एकै किसिमको भने छैन । अन्य समयमा फर्मको आम्दानी राम्रो रहेपनि कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको उनको अनुभव छ ।
अस्थायी र स्थायी गरी कूल ३७ वटा पोखरी रहेको सो फर्ममा शुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
व्यावसायिक रुपमा सफल सो फर्ममा केही महिना अघि मात्र मत्स्य विकास केन्द्र, मिर्मीका प्रमुख रविन्सन अधिकारी र प्रशासन प्रमुख कृष्ण अर्याल आएर फिल्ड भिजिड गरेका थिए । संचालक तिमिल्सिनाका अनुसार उनीहरुले फर्मको थप स्तरोन्नति तथा पोखरी निर्माणका लागि पाँच लाख रुपैंया सहयोग गरेका छन् ।
हाल रेम्बो ट्राउट प्रतिकेजी एकहजार रुपैंयामा विक्री वितरण हुने गरेको छ । ‘पोहोर–पराससम्म त होलसेलमै एघार÷बाह्र सयसम्म पनि पाथ्यौं ।’ विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वती तिमिल्सिनाले भनिन् –‘दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकोले केही कठिन भएको छ । कृषकहरुका गफ गर्ने सरकारले यस्ता उद्यमीहरुलाई राहात हुने गरी कृषि सडकहरुको स्तरोन्नति गरिदिए हुन्थ्यो ।’ फर्म दुईखोलाको बीचमा रहेको र आवातजावत गर्न पुल समेत नभएकोले काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपर्ने बाध्यता तिमिल्सिना परिवारलाई रहेको छ । सरस्वती, उनकी सासुआमा सहितको परिवार विकाससँगै फर्म कम्पाउण्डभित्रै बसोबास गर्ने गरेका छन् ।
भारतीय बजारबाट सस्तो दरको माछा स्थानीयबजारमा सहजै आउने भएका कारण बजारीकरणका लागि केही समस्या पनि परेको तिमिल्सिनाको गुनासो छ । उनका अनुसार इन्डियन बजारको माछा चार÷पाँचसय रुपैंया केजी पाइन्छ । हाम्रो स्थानीय उत्पादन अनि स्वाद र गुणस्तरमा राम्रो भएपनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय समयमा केही समस्या झेल्न परिरहेको छ ।
उनले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न र उपभोक्ता हीत प्रतिकूल हुने खालका माछा विक्री वितरणमा रोक लगाउन तथा जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गरेका छन् ।
स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फर्मको माछा यतिबेला धेरैको रोजाइमा पर्ने गरेको छ । पातिखोलाको माछा भनेपछि स्थानीय कुश्मा–बागलुको बजारका अतिरिक्त पोखरा, काठमाडौंको बजारमा समेत विशेष माग रहने गरेको छ ।
भुरा उत्पादन समेत शुरुः
माछा पारखीहरुको लागि माछा उत्पादन मात्रै नभएर तिमिल्सिनाले आफ्नो फर्मका लागि चाहिने भुरा समेत सोही फर्ममा उत्पादन गर्न थालेका छन् ।
उनले छुट्टै ह्याचरी (पोखरी) निर्माण गरी सो पोखरीमा परिपक्क माउ माछा राखी असोजबाट भाले, पोथी छुट्याउने र उनीहरुबाट कृतिम विधिबाट भुरा उत्पादन शुरु गरेका हुन् । २०७३ बाट भुरा उत्पादन शुरु गरिएको भएतापनि व्यावासायिक रुपमा सफल भने यही वर्षबाट भएको उनले बताए । यो वर्ष आफ्नो लागि चाहिने सवालाख बढी भुरा उत्पादन गरेको उनले जानकारी दिए ।
‘यो वर्ष हामीले आफ्नो लागि मात्र उत्पादन गर्यौं, अर्को पटक भुरा पनि विक्री गर्ने गरी उत्पादनमा जुट्छौं ।’ तिमिल्सिनाले उत्साहित हुँदै भने–‘यहाँको हावापानी राम्रो छ, यहीं पानी घट्ट समेत निर्माण गरेर स्थानीय उत्पादनहरु जम्मा गरी माछाका लागि केही आहारा पनि स्थानीयस्तरमै निर्माण गर्ने गरेका छौं ।’
उनका अनुसार भुराका लागि सिद्रामाछा, अण्डा, ल्याक्टोजिन, दूध, इष्ट, भिटामिन ए, वी, सी, डी, ई, वीवान, वीटु, वीसिक्स, वीटुवेल, भट्ट, आँटा चाहिन्छ । यी खाद्यान्नको समुचित प्रयोग गरेर भुरा माछालाई नौ महिनापछि १२ ग्रामको बनाउन सकिन्छ ।
माछाका लागि चाहिने दाना अलिक महंगो रहेको उनको गुनासो छ । ‘ठूलो माछाका लागि प्रतिकेजी एकसय ५५ र सानो माछाका लागि प्रतिकेजी छसय बढी रुपैंया पर्ने गर्दछ ।’ उनले भने–‘पुरै प्याकेजिङ दानको भर पर्यो भने महंगो हुने भएकोले स्थानीयस्तरमा दाना बनाएर खुवाउने कुरामा समेत हामी लागि परिरहेका छौं ।’
यो जातको माछा दुईसय ग्राम भएपछि खान योग्य हुन्छ । यसको तौल अधिकतम् पाँचकिलोसम्मको हुने गर्दछ । रेम्बो ट्राउट माछा स्थानीय असला माछाको स्वादमा पाइने हुँदा धेरैको रोजाइमा परेको छ । फर्ममा ३ करोडको सामुहिक लगानी रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img