पर्वत । प्रायः हात हालेपछि सफल हुने कला भएको युवाको रुपमा परिचित पर्वतका एक स्थानीय युवाले जिल्ला आउने पाहुनाहरुका लागि फरकपन सहितको सेवा प्रारम्भ गरेका छन् ।
पर्यटकीय नगरीको रुपमा आफ्नो पहिचान बनाउँदै गएको कुश्माबजारको शिवावालय चोकमा युवा व्यवसायी सुवास पौडेल र अम्विका कुमारी शर्मा (दम्पत्ति) ले करोडौंको लगानीमा सो स्वर्ग होटल एण्ड रेष्टुरेष्ट सुरु गरका हुन् ।
पोखरादेखि करीव एक/डेढ घण्टाको दुरीमा सजिलै आउन सकिने कुश्माबजार पछिल्ला वर्षहरुमा पर्यटकीय हब बन्दै गइरहेको महसुस गरेपछि पौडेल दम्पत्तिले होटल तथा रेष्टुरेष्टमा लगानी बढाएका हुन् । मध्यपहाडी लोकमार्गबाट पूर्व पश्चिम गर्ने तथा पोखराबाट एवं कालीगण्डकी करिडोरबाट मुस्ताङङ जानेआउने पर्यटक सहित जिल्लामा आउने पर्यटकहरुलाई लक्षित गरेर सो लगानी गरिएको पौडेल दम्पत्ति बताउँछन् ।
होटल छिर्ने वित्तकै जो कोहीका आँखा पनि भित्तामा एकतमासले अडिन्छन्, पुनः भुईमा नझरी भित्तैभित्ता दौडन्छन् । हो, यही नै स्वर्ग होटलको मुख्य विशेषता हो । होटल स्वर्ग पुगेपछि अन्यत्रको तुलनामा केही न केही नयाँ अनि फरकपन पाउन सकिन्छ ।
स्थानीय रैथाने बालीनालीका परिकारहरु सहित आफ्नै डेरीमा उत्पादित लोकल दही, कुल्फी, लस्सी तथा दाउरामा पकाएको कुराउनी एवं जुस समेत ‘स्वर्ग स्पेशल’को रुपमा सुपथ मूल्यमा ख्वाउने उद्देश्यले स्थापित सो होटलमा स्थानीय कलाकारद्वारानै होटलका सबै भित्ता मन लोभ्याउने कलाले पोतिएका छन् । नयाँ आउने जोकोही पाहुनाहरुलाई पनि यी भित्ते चित्रले मन नलोभ्याउने कुरै भएन । भित्ताहरु राष्ट्रि«य पहिचान झल्काउने तथा जिल्लाको पर्यटनमा टेवा पुग्ने खालका चित्रहरुले पोतिएका छन्, रंगिएका छन् ।
त्यसो त उनको होटलमा पर्वत जिल्लाभित्रका सातै पालिकाकाको नामबाट टेबलको नामांकन गरिएको छ । होटल प्रवेश गर्नेहरु सुरुमा पर्वत टेवलमा वेटिंग गर्छन् र सहजताका आधारमा खाजा र खानाका लागि पालिका नामांकित टेवलबाट थप सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । कुश्मा, जलजला, मोदी, फलेवास, महाशिला, विहादी र पैंयु टेवल स्वर्ग होटलको रिसिप्सन नजिकै नामांकन गरिएका टेवलहरुको नाम हो ।
त्यसैगरी संचालक पौडेलले देशकै गौरवको रुपमा रहेका सगरमाथा र लुम्विनीको नामबाट होटलमा रहेका दुई हलको नामांकन गरेका छन् भने अन्य कोठाहरुको नामांकन जिल्लाभित्र रहेका पर्यटकीय स्थल र प्रसिद्ध ठाउँ एवं हिमालको नामबाट गरेका छन् ।
कूल १५ कोठा रहेको स्वर्गमा नन्एट्याच रुम ४, एट्याच रुम ४, डिलक्स रुम ३ र हल २ सहितका रुम रहेका छन् । होटल स्वर्गमा सेवाग्राहीले पार्किङ सहित ईन्ट्री र एक्जिटका लागि दुई फरक फरक प्वाइन्टको सुविधा लिन सक्नेछन् ।
संचालकका अनुसार असार ६ गतेबाट सेवा शुभारम्भ गरेको होटलमा लाखौंको कारोवार भइसकेको छ भने नौ जना स्टाफहरुलाई रोजगारी सिर्जना भइरहेको छ ।
विगतमा सफल व्यावसायिक छवि बनाएका पौडेल सामाजिक काममा समेत विशेष रुची राख्ने व्यक्ति हुन् । उनीसँग विगतमा सफल रुपमा स्वर्ग डिपार्टमेन्ट स्टोर्स, स्वर्ग डेरी र स्वर्ग अर्गानिक कृषि तथा पशु फर्म संचालन गरेको अनुभव छ ।
त्यति मात्र नभएर विगत २०७४ को स्थानीय चुनावमा कुश्माा नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा विजयी उनीसँग ५ वर्षे जनप्रतिनिधि हुँदाको ताजा अनुभव समेत रहेको छ । उनी कुश्मा नगरका १४ वडा मध्ये लोकप्रिय र जनमुखी काम गर्ने वडाध्यक्षको रुपमा परिचित छन् ।
पौडेल विद्यार्थीकालदेखिनै सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील युवा हुन् । जुन क्षेत्रमा पनि खटेर लाग्ने स्वभावका उनी कुश्मा बजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसमा २०६५ सालमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट पहिलो पटक सभापतिको रुपमा विजयी भएर इतिहास रचेका थिए । समाजसेवा र व्यवसायलाई सँगसँगै अघि बढाएका पौडेल अनेरास्ववियु पर्वतका पूर्व अध्यक्ष समेत हुन् ।





















