बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव : ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

गते

जमुना वर्षा शर्मा

पोखरा । “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक संस्थामार्फत साउन १५ गते पोखराको आकाशमा उडान गरेकी नारायणी दवाडीले प्याराग्लाइडिङको अनुभव सुनाउँदै भनिन्, “हामीले देख्ने, भोग्ने र अनुभूति गर्ने संसार नै बेग्लै छ । प्याराग्लाइडिङ उडानको अनुभवले जीवनको उचाइमा पुर्‍याएको महसुस भयो, आत्मविश्वास बढ्यो ।”

जन्मँदै दृष्टिविहीन उनी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रुपमा कार्यरत छन् । यसअघि पनि उनीसँग वालक्लाइमिङ गरेको अनुभव छ । “प्याराग्लाइडिङ पाइलटले उचाइकाबारे जानकारी गराउँदै, चराहरु उडिरहेको, डाँडाकाँडाको हरियालीसँगै बहेको हावाको स्पर्श, प्राकृतिक सुन्दरता, हिमाललाई बादलले छोपेको सबै दृश्यको वर्णनका आधारमा त्यही दृश्यको कल्पनामा आफूलाई समाहित गर्दा बेग्लै आनन्द आयो”, दवाडीले भनिन् । उनले मान्द्रेढुङ्गामा पोखराका प्रमुख धनराज आचार्य र वडा नं २४ का जनप्रतिनिधिको उपस्थितिले पनि उडानका लागि आफूहरुलाई थप हौसला मिलेको बताइन् ।

ब्लाइन्ड रक्सका संस्थापक अध्यक्ष सृष्टि केसीले उडानको अनुभव सुनाउँदै भनिन्, “जीवनमा उचाइ र सफलतमा पुग्नका लागि दृष्टिविहीनताले छेक्दैन, आकाशमा स्वतन्त्ररुपमा उडेर, बादल चुमिरहेको पलले निकै आनन्ददायक ऊर्जा थपिरहेको थियो”, केसीले भनिन्, “कुनै अनुभव गर्नका लागि आँखाको ज्योतिको आवश्यकता हुँदैन, हामीले आँखा नदेखे पनि अरु हाम्रा इन्द्रीयले काम गरिरहेका थिए ।” उनले पाइलट भनिरहेका दृश्यलाई कल्पनाको रङले कोरेर बादलुको घुम्टोले छेकेको हिमाल देखिरहेको र हिमालको शीतलताले आफूलाई मन्दमन्द स्पर्श गरिरहेको अनुभव सुनाइन् ।

केसीले जीवनलाई हेर्ने बुझ्ने मानक आँखालाई मात्र बनाउन नहुने बताइन् । दृष्टिविहीन हर कुनै क्षेत्रमा सफल हुन सक्छन् र हर कुनै कार्य गर्न सक्छन् भन्ने सन्देश यस उडान दिएको उनको भनाइ थियो ।

केसीका अनुसार ब्लाइण्ड रक्सले कला र सिर्जनासँगै साहसिक गतिविधिमार्फत दृष्टिविहीन अपाङ्गता भएकाहरुको सशक्तीकरणमा काम गर्दै आएको छ । संस्थाले एडभेन्चर बालक्लाइमिङ, रक क्लाइमिङ, रिभर र्‍याफ्टिङ गरिसकेको र यसपटक पोखरामा प्याराग्लाइडिङ गरेको उनले जानकारी दिए ।

दृष्टिविहीन महिलालाई सीमित क्षेत्रमा मात्र कैद गर्ने भएकाले पनि महिलालाई बढी प्राथमिकतामा राख्ने गरेको केसीको भनाइ थियो । उनले प्याराग्लाइडिङमा नौ दृष्टिविहीन महिला, दुई विदेशी दृष्टिविहीन पुरुषसँगै र तीन दृष्टियुक्त गरी १२ जनाले उडान गरेको जानकारी दिइन् ।

संस्थाका व्यवस्थापक ओसिम अन्सारीले जीवनका हरेक सुन्दर र साहसिक गतिविधिको आनन्द लिन दृष्टिविहीन भएकै कारण अवसर गुमाउनु नपरोस् भन्ने उद्देश्यले संस्थाले कला र साहसिक गतिविधिलाई जोड दिँदै आएको बताए । “धेरैलाई लाग्न सक्छ आँखा नदेख्नेहरु रमाउन सक्दैनन्, साहसिक गतिविधि गर्न सक्दैनन् तर उहाँहरु उदाहरणीय हुनुहुन्छ”, उनले भने, “हर कुनै कार्य गर्न सवल र सक्षम हुनुहुन्छ ।”

पछिल्लो समय निकै उत्साहका साथ प्याराग्लाइडिङ गरेर उनीहरुले आफ्नो साहस र क्षमता सफलतापूर्वक प्रदर्शन गरेको उनको भनाइ थियो । अन्सारीले प्रत्येक दुई÷तीन महिनामा प्याकेज बनाएर प्याराग्लाइडिङलगायत साहसिक कार्यक्रम गर्दै उनीहरुको सशक्तीकरणमा जोड दिँदै आएको बताए ।

व्यावसायिक प्याराग्लाइडिङ उडानको आठवर्षे अनुभव बटुलेका प्यारापाइलट रोशन गौतमले पहिलोपल्ट दृष्टिविहीनको समूहलाई उडान गराउँदा निकै आनन्द लागेको बताए । “मेरो बुझाइमा आँखा देख्नेले जे देखे त्यसैमा रमाउँथे तर दृष्टिविहीन भित्री आँखाबाट अझ बढी आनन्द लिएको मैले पाएँ”, उनले भने, “उडानका क्रममा उहाँहरुले भनिरहनुभएको थियो ‘आइ बान्ट टु फ्लाइ इन द क्लाउड’ (म बादलमा उड्न चाहान्छु) हिमालको नजिकबाट छोएको अनुभूति गर्न चाहान्छु । म पनि उहाँहरुको अनुभूतिसँगै उडान गरेको महसुस गरिहेको थिएँ । वास्तवमा मैले पनि बेग्लै आनन्द लिएको थिएँ ।”

गौतमले उडानको व्यवस्थापकीय जिम्मेवारी पनि आफूले गर्ने अवसर मिलेको बताउँदै १९ सय ५० मिटरको उचाइसम्म उडान भरेको जानकारी दिए । “हामी उचाइमा पुगिरहेका थियौँ, वर्षायामको समय हिमाल पूरा खुल्न पाएको थिएन तर बादलभित्रबाट उहाँहरुले हिमाल नियालिरहनुभएको थियो”, उनले भने, “उहाँहरुको मुखबाट निस्किएका वाउ ! भन्ने शब्द र हाउभाउले पनि आनन्द दिइरहेको थियो ।” उनीहरुलाई सम्झन लायक उडान गराउन सफल भएको अनुभूति भइरहेको गौतमले बताए ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराइले दृष्टिविहीनहरुको प्याराग्लाइडिङ उडानले सकारात्मक सन्देशसँगै आफू पनि प्रभावित भएको बताए । “बाहिरी आँखाभन्दा शक्तिशाली त भित्री आँखा हुँदोरहेछ”, उनले भन, “उडानपछिको उहाँहरुको अनुभव सुनेर निकै आनन्द लाग्यो । उहाँहरुको ऊर्जा साहस र आत्मविश्वासबाट म निकै प्रभावित भएको छुँ ।”

भट्टराईले पोखरा महानगरनरपालिकासँगको समन्वयमा उहाँहरुको टिमलाई पोखरा–२४ मान्द्रढुङ्गाबाट प्याराग्लाइडिङ गराइएको जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img