बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

जनभावनाको कदर

गते

जनभावनाको कदरनिश्चल ज्ञवाली 

नेपालको संविधानमा राज्यको संरचनालाई तीन तहमा राखेर जिम्मेवारी बाँडफाँट गरेको छ । जनताले सेवा सुविधा छिटोछरितो रूपमा पाउनुपर्छ भनेर नै संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था संविधानमै गरिएको हो ।  संविधानको धारा ५९(१) मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने,  नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने  व्यवस्था छ ।

सरकारले हरेक आर्थिक वर्षमा नीति तथा कार्यक्रमअनुसार  बजेट कनाएको हुन्छ । विभिन्न क्षेत्रमा छुट्टयाइने बजेट आर्थिक वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ । हरेकपटक सरकारले नीति तथा कार्यक्रम ल्याए पनि यसको सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठ्न थालेको देखिन्छ । नीति तथा कार्यक्रमजस्तो राष्ट्रको गम्भीर विषयमा सरकारको ध्यान पुग्न नसकेकाले यस्तो भएको हुनसक्छ ।

वर्तमान  संविधानअनुसार  जनता सार्वभौम भए पनि अहिलेको अभ्यासमा राज्य जनताको पहुँच बाहिर छ । यसैले सरकारले बनाउने नीति तथा कार्यक्रमलगायतमा जनमतको कदर भएको देखिँदैन। राज्यको बजेटको मूल स्रोत जनताले  तिर्ने कर हो र यसैबाट राज्य चलेको हुन्छ । तर, जनताको मतले सरकारमा पुगेकाको ध्यान भने जनताको मनोभावना बुझ्नेतिर गएको देखिँदैन ।

राज्य सञ्चालन गर्ने माध्यम बजेट हो ।  हरेक आर्थिक वर्षको लागि सरकारले बनाउने नीति कार्यक्रम र त्यसअनुसार छुट्ट्याइने बजेट जनताको इच्छाबमोजिम आउन सकेमात्र न्यायोचित हुन्छ । नीति तथा कार्यक्रममा जनभावना जति समेटिन्छ उति नै त्यो नीति तथा कार्यक्रम राम्रो मान्न सकिन्छ । यसैले वर्ष ल्याइने नीति तथा कार्यक्रममा केलाई प्राथमिकता दिने भन्नेमा ध्यान दिनु जरुरी हुन्छ । संविधानप्रदत्त नागरिकका हक अधिकार चरितार्थ गर्न पनि नीति तथा कार्यक्रममा जनताको भावना समेटिनुपर्छ ।

स्थानीय सरकार जनताको घर आँगनसम्म पुगेको हुन्छ ।  स्थानीय तहबाट नै जनताका दैनिक समस्याको सम्बोधन हुन्छ ।  जन्मदर्ता, नागरिकता सिफारिस, कर तिर्नेलगायतका विभिन्न काम गर्न जनता जाने स्थानीय सरकारमा हो  । त्यसकारण स्थानीय सरकार जनतासँग नजिक पनि छ र विशेष गरेर यसले नीति निर्माण  गर्नुअघि जनताका समस्या बुझ्न बहसको विषय बनाउन जरुरी छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१(१) र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(३) मा राजस्व र व्यय (बजेट) अनुमान प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सभामा पेस गरिसक्नु पर्ने व्यवस्था छ । यसअनुसार अब समय धेरै छैन । त्यस अगावै स्थानीय सभाले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ ।

स्थानीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि जनतामाझ गएर उनीहरूक‍ो अपेक्षा सुन्न नीति बहसजस्ता कार्यक्रम चलाउन जरुरी हुन्छ । नीति बहसले सरकारलाई नीति निर्माणमा सजिलो बनाउनुका साथै विगतका कमी कमजोरी सच्याउन मद्दत पुग्छ । त्यसकारण नीति निर्माणमा जनसाधारणलाई प्रत्यक्ष संलग्न गराउन पनि सबै जनतालाई भेला गरेर उनीहरुको अपेक्षा सुन्न जरुरी देखिन्छ ।

नागरिकको हक अधिकार सुनिश्चित तथा चरितार्थ गर्नु राज्यको मूल दायित्व हो ।  सरकारले गर्ने सबै गतिविधिमा जनताको प्रत्यक्ष संलग्नता हुनुपर्छ भन्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको मान्यता हो । त्यसकारण सरकारले नीति निर्माण गर्दा जनभावनामा ध्यान दिनुका साथै आफ्नो कार्यशैलीलाई पनि जनमुखी बनाउन जरुरी हुन्छ । (लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत निश्चल ज्ञवाली बाट लेखिएको यो सामग्री बाह्रखरी अनलाइनबाट साभार गरिएको हो ।)

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img