कुश्मा: करिब डेढ वर्ष पहिला केपी शर्मा ओली अर्थात “केपी बा” को बालाकोटको बार्दली निकै चर्चामा आयो । तर यो बार्दली त्यो भन्दा थुप्रै पहिलादेखी केपि “बा”ले प्रयोग गरिनै रहने बार्दली थियो तरपनि यति चर्चामा आएको थिएन । जति प्रधानमन्त्री पद छाडेर केपीबा फर्केपछि चर्चामा आयो ।
आफ्नै नेतृत्वमा बनेको करिव दुई तिहाइको सरकार आपसी मनमुटावका कारण सम्हालिन नसकेर बिपक्षी दलका नेता अझ भनौ काङ्ग्रेस भित्रै पनि धेरैले आशाको नजरले नहेरेका शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाइपाउँ भनेर आफ्नैले लिखित निबेदन नै दिएपछि एमाले अध्यक्ष “केपी बा” बालुवाटारबाट बाहिरिएर बार्दलीबाट एमाले शुभेच्छुक शुभचिन्तकहरुलाई सम्बोधन गर्न पुगेका थिए ।
यसै पनि “बा”को वाक पटुता, त्यसै माथी आफ्नै भनेकाहरुले दिएको तात्तातो धोकाको आक्रोस त्यतिबेला बार्दलीबाट छताछुल्ल पोखिएको आभास हुन्थ्यो । एमाले बाहेका दलका नेताहरु केपीबालाई प्रधानमन्त्रीको कुर्चीबाट बालकोटको बार्दलीमा पुर्यायौ भनेर गर्वको अनुभुती गर्दथे । मानौ कि ‘बार्दली’ ओरालो लागेका मान्छे चढेर आक्रोस ओकल्ने ठाँउ हो । तर सयोग नै मान्नुपर्छ, त्यही केपी बाको बालाकोटको बार्दली डेढ वर्ष पछि प्रचण्डका लागि सन्जिबनी बुटी साबित भएको छ । अर्थात् सबै कम्युनिस्ट मिलाउने उद्घोष बिर्सेर बिपरित ध्रुवतिर हिंडेका केपी बा र प्रचण्ड एकाएका बार्दलीबाट हात हल्लाउँदै आफ्ना-आफ्ना शुभेच्छकुहरुलाई सम्बोधन गर्ने थलो बनेको छ ।
अन्ततः माओवादीले घृणाको नजरले हर्ने सोही बार्दलीबाट दुइतिर फर्केका आफ्ना कार्यकर्तालाई नयाँ उत्साह र उमंग भर्ने गरि मन्द मुस्कान छर्न सफल भएका छन् । प्रचण्ड लगायत पुरानो गठबन्धनलाई हियाउन एक्लै बार्दली निस्कने उनै उनै “केपि बा” उही प्रचण्डलाई साथ लिएर बार्दलीमा हात हल्लाईरहेका छन् ।
सत्ताबाट बाहिरिएर बार्दलीबाट आफ्ना कार्यकर्ताहरुलाई गरेको सम्बोधन करीव डेढ वर्ष बित्दा-नबित्दै बालाकोटकै बार्दलीबाट देशले नयाँ गन्तब्य समातेको छ । अर्को अर्थमा भन्ने हो भने टुटेको कम्युनिस्ट आन्दोलन पुन लयमा जोडिएको छ ।
नेपाली काँग्रेस आफ्नो अडानबाट टसमस नभएपछि अर्थात् ज्योतिषको वचन जसरी पनि पूरा गर्ने ध्याउन्नमा शेर बहादुर देउवा लागेपछी उनको ७औ पटकसम्म प्रधानमन्त्री हुने बाटो अहिलेलाई ब्रेक लागेको छ । २०औ वर्ष नछुट्ने बाचा गरी चुनाव अघिदेखि बाँधिएको गाँठो र सत्ता सहकार्य एकैपटक चुँडिन पुगेको छ । जसरी गर्ल्याम्मगुर्लम्म सत्ता गठबन्धन भत्कियो उसैगरी चमात्कारिक ढंगबाट अर्को गठबन्धन त्यही बालाकोटको बार्दलीले उठाई छाडेको छ ।
हिजो बार्दली देखायार हियाउने प्रचण्ड आज त्यही बार्दलीको जगमा बनेको गठबन्धनको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका छन् । संयोग नै मान्नु पर्छ; काङ्ग्रेस-माओवादी लगायतका दलले नकारात्मक चर्चामा ल्याउने गरेको बार्दलीले हिजो अन्तिम दिनको अन्तिम केही घन्टामा देशलाई निकास दिएको छ । फलस्वरूप अन्य दलका नेताहरु समेत बार्दलीमा हातेमालो गर्दै नयाँ समिकरण बनाउन पुगे पछि बालकोटको बार्दलीको एक पटक पुन चर्चा चुलिन पुगेको छ । बार्दलीले केपीसँगै प्रचण्ड समेतको नयाँ अध्यायको सुरुवात पनि गरिदिएको छ ।
हेरौ यो रेस कहाँसम्म पुग्छ वा बिचमै टुट्छ ? तर केपी बा र प्रचण्ड बाको बार्दली सयोग चै इतिहासमा चर्चाको विषय भैरहने नै छ ।



















