काठमाडौं: नेकपा एमालेका प्रत्यक्ष निर्वाचित ४४ जना सांसदमध्ये लगातार दुईपटक चुनाव जितेर पनि मन्त्री नभएका सांसदहरु यस पटक मन्त्री हुने सम्भावना प्रवल रहेको छ ।
नेकपा एमालेको उमेदवार बनी संघीय संसदमा पर्वतबाट लगातार दोश्रो पटक उपस्थिति जनाएका पदम गिरी यस पटक मन्त्रीको प्रवल दावेदारका रुपमा हेरिएका छन् । उनले पर्वतबाट दोस्रो जित निकाल्दा जिल्लाका दुवै प्रदेशसभामा पनि एमालेले बिजय हाँसिल गरेको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई दोस्रोपटक पराजित गरेका युवा नेता गिरी युवाहरुको रोजाइका पात्र हुन् । पृथ्वीनारायण वहुमुखी क्याम्पस पोखराको स्ववियु सभापतिबाट राजनीतिक करिअर शुरु गरेका गिरी विद्यार्थी कालदेखि लोकप्रिय नेताको रुपमा परिचित छन् ।
लामो समयदेखि काँग्रेसले एकछत्र जित्दै आएको पर्वतमा दुई चुनाव गिरीले बाजी मारेपछि उनी थप चर्चामा रहेका हुन् । उनीसँगै प्रवदेशका दुवै सिटमा समेत एमालेले जित हात पारेपछि नेकपा एमाले केन्द्रबाट जिल्ला कमिटी पर्वत पुरस्कृत समेत भएको थियो ।
दुईपटक जीत हासिल गरेका मध्ये मन्त्री नबनाइएका युवा नेताहरु मध्ये विद्या भट्टराई, साँवा लिम्बु र राजेन्द्र राई पनि उत्तिकै चर्चामा रहेका छन्।
एमालेले लगातार चुनाव जितेका तर मन्त्री नबनेका नयाँ अनुहार छान्ने मापदण्ड बनाउँदा यी चारजनाबाट मध्येबाट मन्त्री बन्ने सम्भावना प्रवल रहन्छ ।
एमालेले यसअघि पनि पार्टीका पदाधिकारी, सिनियर नेता, दुईपटक लगातार चुनाव जितेका र पहिलोपटक जितेर आएकालाई समेत सन्तुलन मिलाएर मन्त्री बनाउने प्रचलन बनाएको थियो । तर विशाल भट्टराई, यज्ञराज सुनुवारलगायतका केही नेता भने लगातार दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न पाएका थिएनन् । यसपटक उनीहरु पराजित भएका छन् ।



















