- सुमन जंग थापा
१९ फागुन, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काँप्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले “मुटु छुने लुम्लेको हावाले” भन्दै गीत नै गाउनु भएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेहरूका लागि पनि लुम्ले गाउँ परिचित छ ।
सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटकहरू रोकिने गर्नु भएको छ ।”, उनले भने, “विदेशी ग्राहकलाई मैले आफै उत्पादन गरेको अर्ग्यानिक कफी हो भनेपछि उनीहरू बेस्सरी जिज्ञासु र उत्साहित हुन्छन् । कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।
यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले लुम्लेमा बहने चीसो हावाबाट झहनिएका यात्रुहरुलाई इनर्जी सहित रिफ्रेस गराउन सडक छेउमा व्यववसाय संचालन गरेका छन् । उनले “लुम्ले कफी स्टेट” नाम दिएर ग्राहकलाई आफैले उत्पादन गरेको अर्ग्यानिक कफीबाट बनेका पेय पदार्थहरू पिलाउँदै आएका छन् । । उनले चार वर्ष अघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनर निर्माण गरी क्याफे सञ्चालन गर्नु भएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रुहरू केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताए ।
“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटकहरू रोकिने गर्नु भएको छ ।”, उनले भने, “विदेशी ग्राहकलाई मैले आफै उत्पादन गरेको अर्ग्यानिक कफी हो भनेपछि उनीहरू बेस्सरी जिज्ञासु र उत्साहित हुन्छन् । कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।”
होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाई छाडेर कतारको यात्रामा लाग्नु भएका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्के । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठुला क्याफेहरूमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीहरूको भिड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो ।
“मैले पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ । अन्तर्राष्ट्रिय स्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर समेत पाएँ ।”, क्याफेमा आइपुगेका ग्राहकलाई कफी बनाउँदै देवकोटाले भने, “कतार जानु अघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो । भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।”
सामान्य परिवारमा हुर्केका देवकोटाको बुवा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आएका छन् । छिट्टै बुवालाई पनि स्वदेश फर्काउने उहाँको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आएकी छन् । “नर्सरीमा उत्पादन भएका बिरुवा देखि प्रशोधनसम्मको काममा आमाले सघाउनु हुन्छ ।”, देवकोटाले भने, “मैले चाहिँ क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकोले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।”
देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । धेरै ठाउँमा कफी बेच्न पुगे । उनले दुःख अनुसारको मूल्य कहीँबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफे समेत सञ्चालन गर्ने निर्णय गरे । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाएका उनले भनेजस्तो सस्तो मूल्यको सवारी साधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गरेका हुन् ।
“नेपालमा कफी कल्चर बढिरहेको अवस्थामा लोकल कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ ।”, उनले भने, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफी समेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ । कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेहरूमा गाउँको अर्ग्यानिक कफी पिउन पाइन्छ भन्ने हो ।” देवकोटाको क्याफेमा लोकल कफीबाट बन्ने पेय पदार्थहरूको स्वाद लिने मुख्य ग्राहक भनेको राजमार्गमा गुड्ने यात्रुहरू नै हुन् ।
विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नु भन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिनेहरू प्रशस्तै भेटिन्छन् । तर, उनलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन । आमाको काखमा आफ्नै घरमा बसेर कफीको बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउँछन् । “हाम्रो कफी बजारको भन्दा फरक भएरै होला दिनप्रतिदिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ ।”, उनले भने, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी, माया र केयर पनि भेट्ने गर्छन् ।”




















