बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

महिलामाथि घृणात्मक भाषाको बढ्दो प्रयोग

गते

मिना अर्याल
नेपालको सामाजिक संरचनामा परम्परागत पितृसत्तात्मक सोचले गहिरो रूपमा जरा गाडेको छ । अझ पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले विचार, अभिव्यक्ति र छलफलको स्वतन्त्र प्लेटफर्म दिएको भए तापनि यही प्लेटफर्म महिलाहरूमाथि हुने गालीगलौज, चरित्रहत्या र अपमानजनक टिप्पणीको अखडा बनेको छ।

विशेष रूपमा यो स्थिति त्यतिबेला झनै तीव्र रूपमा देखा पर्छ, जब कुनै महिला लोकप्रियता हासिल गर्छिन्, आफ्ना विचार सार्वजनिक रूपमा राख्छिन् वा आफ्नो व्यक्तिगत जीवनका निर्णयहरू स्वतन्त्र रूपमा लिन्छिन्।

हालै सामाजिक सञ्जालमा चर्चित गायकद्वय एलिना चौहान र समीक्षा अधिकारीमाथि गरिएको घृणास्पद टिप्पणी र आचरण यही संरचनाको प्रतिनिधि उदाहरण हो। यिनले आफ्नो व्यक्तिगत सम्बन्ध, जीवनशैली र अभिव्यक्तिका कारण तीव्र आलोचना मात्रै होइन, गहिरो स्तरको गालीगलौज र लैङ्गिक अपमानको सामना गर्नुपरिरहेको छ।

उनीहरू विरुद्ध ‘सेकेन्ड ह्यान्ड माल’, ‘१० लाखमा कुमारीत्व’, ‘भालु’, ‘चरित्रहीन’, ‘बिग्रिएकी’, ‘पैसाको पछि लाग्ने’, ‘नाङ्गो भएर चर्चामा आउन खोज्ने’ जस्ता शब्दावलीहरू व्यापक रूपमा प्रयोग भएका छन् जसले नारी अस्तित्व र स्वायत्तताको गम्भीर अपमान गर्छ।

महिलाको निजी निर्णय, जस्तै- उनी कसलाई प्रेम गर्छिन्, कोसँग बस्छिन्, उनी कुन पहिरन लगाउँछिन्यी – सबैलाई समाजले नियन्त्रण गर्न खोज्नु र त्यसको विरोध गर्नेहरूलाई सार्वजनिक रूपमा मानसिक हिंसाबाट प्रताडित गर्नु सामान्यजस्तै भएको छ।

नेपालको समाज अझै पनि पितृसत्तात्मक सोचद्वारा निर्देशित छ, जसले महिलाको हरेक स्वतन्त्रता-सोच, अभिव्यक्ति, पहिरन, विवाह, सम्बन्ध, अनि शरीरसम्बन्धी अधिकारहरूमाथि नियन्त्रण गर्न खोज्छ। महिलाले के बोल्ने, कति बोल्ने, कसको अगाडि बोल्ने-यसबारे समाजले एउटा कठोर मापदण्ड बनाएको छ ।

महिलाले कसरी लुगा लगाउने, कोसँग प्रेम गर्ने, कहिले बिहे गर्ने, कहिल्यै सम्बन्धविच्छेद नगर्ने- यी सबै कुरामा समाजले कठपुतलीझैँ नचाउने काम गर्छ। एउटी महिलाले यदि सम्बन्धविच्छेद गरिन् भने उनलाई ‘अश्लील’, ‘धेरै स्वतन्त्र’, ‘घर नटिकाउने’ भनेर दोषी बनाइन्छ, तर पुरुषले त्यो गरेमा सामान्य मानिन्छ।

फ्रान्सेली नारीवादी चिन्तक सिमोन द बोउवारले भनेकी छन्, “One is not born, but rather becomes, a woman.” अर्थात् महिला जन्मँदै हेपिने होइनन्, तर समाजको बनावटले उनलाई हेपिन्छ। यो भनाइ नेपाली सन्दर्भमा ठ्याक्कै लागू हुन्छ। यहाँ नारीलाई सानैदेखि आज्ञाकारी, शालीन, सहनशील र चुपचाप बस्नुपर्ने शिक्षा दिइन्छ।

विवाहपछि महिलालाई एक्लै घर सम्हाल्नुपर्ने, श्रीमानका हरेक व्यवहार सहनुपर्ने, अनि कहिल्यै बिदा माग्न नपाइने संस्कार बनाइएको छ। बेल हुक्सले भनेझैँ, “Patriarchy has no gender”—नेपालमा पनि कतिपय महिला आफैं पितृसत्तात्मक सोच बोकेर अर्की महिलालाई दमन गर्न लागिपरेका हुन्छन् ।

यस किसिमको सामाजिक मानसिकताले महिलालाई पूर्ण रूपमा आत्मनिर्भर बन्न दिँदैन। उनीहरूलाई आर्थिक, सामाजिक, भावनात्मक रूपमा पुरुषमा निर्भर बनाइन्छ। “मेरो शरीर, मेरो अधिकार”, “मेरो जीवन, मेरो निर्णय” भन्नु महिलाको आधारभूत मानव अधिकार हो तर समाजले यसलाई स्वच्छन्दता, विकृति र अनैतिकता भन्न रुचाउँछ ।

यस्तो सोचले महिलाको स्वायत्तता कुन्ठित गर्छ र स्वतन्त्र महिलालाई सामाजिक अपराधीझैँ प्रस्तुत गर्छ । आज एलिना र समीक्षा जस्ता महिलाहरूले सामाजिक सञ्जालमा आवाज उठाउँदा यति धेरै गाली किन खाइरहेका छन् किनभने उनीहरूले पितृसत्ताद्वारा तोकिएको सीमा पार गरेका छन्- जुन सीमालाई भत्काउनु अबको आवश्यकता हो ।

सामाजिक सञ्जालमा महिलामाथि गरिने गालीगलौज र घृणायुक्त अभिव्यक्तिहरूले उनीहरूको आत्मसम्मान, मनोबल र सामाजिक पहिचानमा गहिरो चोट पुर्‍याउँछ । यस्तो भाषाले महिलाको चरित्र र अस्तित्वमाथि नै आक्रमण गर्छ, जसको दीर्घकालीन मनोवैज्ञानिक असर पर्न जान्छ।

हाल चर्चामा रहेकी गायिका एलिना चौहानले निजी जीवनमाथिको सार्वजनिक हमला सहन नसकेर गृह मन्त्रालयसम्म उजुरी गर्नुपर्‍यो । उनले भनिन्, जब व्यक्तिगत जीवन असर पर्न थाल्यो-लगातार मौखिक गाली र चरित्र आक्रमण भयो-त्यो असह्य बन्दै गयो । यस किसिमको आघातले एलिनालाई कानुनी सहाराको खोजी मात्र होइन, आफूलाई समाजबाट टाढिन खोज्ने मनोवृत्तिमा पुर्‍यायो।

समीक्षा अधिकारीको अनुभव पनि फरक थिएन। उनले सामाजिक सञ्जालमा भनिन्, “म अरूको गाली अब सहन चाहन्नँ… कसैलाई मेरो गीत मनपरेन भने उसले नसुने हुन्छ ।” यस्तो भनाइ गुनासो मात्र होइन, गहिरो निराशा र आफ्नै आत्मपहिचानमाथिको संकटको स्वर हो।

डिप्रेशन, चिन्ता, आत्महत्याका विचार, सामाजिक अलगाव, अनि शारीरिक स्वास्थ्यमा समेत असर गर्ने यस्ता मानसिक चोटहरू कुनै पनि महिलाका लागि विनाशकारी बन्न सक्छन् ।

के एउटी महिलाले सम्बन्धविच्छेद गरिन् भने त्यो उनका अधिकारको हनन हो ? के महिलालाई प्रेम गर्न स्वतन्त्रता छैन ? मेरो शरीर, मेरो अधिकार भन्ने आवाज उठाउनु कुनै नैतिक भ्रष्टता होइन, यो त मानव अधिकारको मूल स्वरूप हो। तर पितृसत्तात्मक सोचद्वारा निर्देशित हाम्रो समाजमा महिलाको प्रेम, विवाह, सम्बन्धविच्छेद, अनि शरीरसम्बन्धी निर्णयहरूलाई स्वतन्त्रता होइन, स्वेच्छाचारिता भनेर चित्रण गरिन्छ।

समाजले महिलालाई हरेक निर्णय लिनुअघि डर र संकोचको पर्दा ओढाएर राख्न खोज्छ—उनीहरूले प्रेम गर्नु अघिदेखि सम्बन्ध तोड्नुअघिसम्म, आफ्नै शरीरको विषयमा निर्णय लिनुअघिसम्म पनि सोच्नुपर्ने, डराउनुपर्ने बाध्यता बनाइन्छ। यस्तो मानसिकताले महिलालाई भित्रैबाट अपराधी जस्तो महसुस गराउँछ।

निरन्तर आत्मग्लानि, आत्मबलको ह्रास, अनि जीवनप्रतिको उत्साहको कमी महिलामा फैलिँदै जान्छ। ‘म सही निर्णय गर्न सकिनँ’ भन्ने पीडादायी भावनाले उनीहरूको आत्मविश्वास र स्वाभिमान दुवैलाई कमजोर बनाउँछ। यस्तो भावनात्मक नियन्त्रणले महिलालाई अशक्त, टुक्रिएको र सामाजिकरूपमा निरीह बनाउने काम गर्छ। समाजले जब महिलाको स्वतन्त्रता र खुसीलाई शक्तिको रूपमा होइन, सङ्कटको रूपमा बुझ्न थाल्छ, त्यहीँबाट महिलाको व्यक्तित्वको ह्रास सुरु हुन्छ ।

प्रश्न उठ्छ के प्रेम, आत्मनिर्भरता, र निर्णय गर्ने स्वतन्त्रता मात्र पुरुषहरूको विशेषाधिकार हो ? यदि एउटी महिलाले ‘म खुसी छु’ भन्न पाइँदैन भने त्यो समाज स्वतन्त्र हुन खोज्ने महिलाको अस्तित्व नै अस्वीकार गरिरहेको छ। यस्तो अवस्थामा नारीमुक्तिको लडाइँ केवल सामाजिक परिवर्तनको होइन, मानसिक मुक्तिको पनि हो।

२१औँ शताब्दीको नेपाली समाजमा महिलाहरू अब पुरानो पितृसत्तात्मक सोच र दबाबलाई स्वीकार गर्न तयार छैनन्। शिक्षा, सूचना प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी नारी आन्दोलनको प्रभावले महिलाहरूमा आत्मचेतना, अधिकारबारे बुझाइ र विद्रोहको साहस बढेको छ। अबका नेपाली नारी, आफ्नो जीवन आफैँ चलाउने आत्मनिर्भर व्यक्ति हुन् कसैका दासी होइनन्, न त चुपचाप सहने प्राणी।

पितृसत्तात्मक सोच राख्नेहरूलाई अब बुझ्न जरुरी छ कि परिवर्तनको लहर चलिसकेको छ- अब नारी आफ्नो आवाज दबाउने, उनको शरीरमाथि अधिकार जमाउने, वा चरित्रको नाममा गालीगलौज गर्ने सोचलाई स्वीकार गर्दिनन् ।

आजकी महिलाले यदि प्रेम गर्छिन्, बिहे गर्छिन् वा सम्बन्धविच्छेद गर्छिन् भने त्यो उनको निजी अधिकार हो, न कि समाजको मूल्याङ्कन गर्ने विषय। पितृसत्तात्मक सोचमा अड्किएका मानिसहरूले अब आफूलाई अद्यावधिक गर्नुपर्छ-नत्र उनीहरू कानुनी प्रक्रियामा तानिनेछन्।

अब महिलाहरूले गालीगलौज, धम्की, मानसिक हिंसा र अपमानजनक टिप्पणीहरू सहन बन्द गरिरहेका छन्। उनीहरूले यस्ता दुर्व्यवहार गर्नेहरूलाई सिधै साइबर अपराध महाशाखा, प्रहरी प्रशासन वा मानव अधिकार आयोगमा उजुरी गर्दै छन्। यो समय हो-नारीलाई सम्मान गर्ने, उनको स्वतन्त्रता र आत्मनिर्णयलाई स्वीकृति दिने। नत्र, परिवर्तनको लहरले पुराना सोच र अनुचित व्यवहार बोकेकाहरूलाई समाजबाट बिर्साइदिनेछ ।

एलिना चौहान र समीक्षा अधिकारीजस्ता महिलाहरूले उठाएका आवाज केवल व्यक्तिगत पीडाका कथा होइनन्—यी आवाजले अब राजनीतिक चेतनाको नयाँ रूप लिँदैछन्। यिनीहरूले मागेको समानता र स्वतन्त्रता केवल सामाजिक या सांस्कृतिक परिवर्तनको मुद्दा होइन, नारी अधिकारलाई सुनिश्चित गर्ने राज्यको राजनीतिक जिम्मेवारी हो।

अब महिलाहरू आफ्नो जीवन र शरीरमाथिको सम्पूर्ण स्वामित्व मागिरहेका छन्, जुन राज्य र संविधानले सुनिश्चित गर्नुपर्ने अधिकार हो। यस्ता आवाजले लैङ्गिक समानताको पक्षमा नीति निर्माण, कानुनी सुधार र दण्डहीनताविरुद्ध कडा कानुनी कारबाहीको माग गर्छन्।

यी महिलाहरूले कल्पना गरेको समाज यस्तो हो जहाँ महिलालाई निर्णय गर्न, बोल्न, बस्न, प्रेम गर्न र आफैँका लागि बाँच्छु भन्न स्वतन्त्रता प्राप्त होस्—जहाँ यिनका शरीरलाई नियन्त्रणको होइन, सम्मानको दृष्टिले हेरियोस्। उनीहरूको सपना समावेशी, समानतामूलक, र न्यायप्रेमी नेपाल हो-जहाँ नारीको आवाज दबाइँदैन, सुनिन्छ र व्यवहारमा उतारिन्छ। यी कलाकारहरूले उठाएको आवाजलाई प्रधानमन्त्री, मन्त्री, सांसद र राजनैतिक नेताहरूले समेत समर्थन गर्नुले यस्तो आवाज अब केवल कला र संगीतसम्म सीमित छैन- यसले राजनीतिक आन्दोलनको रूप लिँदैछ, जसले नारी अधिकारको सवाललाई संसददेखि सडकसम्म गुञ्जाउनेछ ।

नारीमाथिको चरित्रहत्या, गालीगलौज र घृणित भाषाको विरुद्धमा एलिना चौहान र समीक्षा अधिकारीले उठाएका आवाज केवल व्यक्तिगत पीडाका अभिव्यक्ति होइनन्, ती सम्पूर्ण नेपाली महिलाको अस्मिता, स्वतन्त्रता र अधिकारको पक्षमा उठेको सशक्त राजनीतिक र सामाजिक हस्तक्षेप हुन्। यिनको आवाजले परम्परागत पितृसत्तात्मक मानसिकता, जो महिलाको शरीर, सोच, सम्बन्ध र पहिचानमाथि नियन्त्रण जमाउन खोज्छ, त्यसलाई खुला चुनौती दिएको छ।

आजको शिक्षित, सचेत र आत्मनिर्भर नेपाली महिला अब दबिइरहन चाहन्न, न त अन्याय सहन तयार छिन्। ‘मेरो शरीर, मेरो अधिकार’ भन्ने आवाज अब नारीको निजी चेतनाबाट राष्ट्रिय चेतनामा रूपान्तरित हुँदैछ, जसले कानुनी सुधार, नीतिगत परिवर्तन र सामाजिक रूपान्तरणको माग गरिरहेको छ।

यो आन्दोलनले यस्तो समाजको परिकल्पना गर्छ जहाँ महिलालाई प्रेम गर्न, निर्णय लिन, आफ्नै जीवन रोज्न स्वतन्त्रता होस् र जहाँ उनको अस्तित्वलाई नियन्त्रण होइन, सम्मान प्राप्त होस् । यस्तो आवाजलाई अब चुप गराउन सकिन्न । यसले नेपालमा समावेशी, समान र न्यायपूर्ण भविष्य निर्माण गर्ने दिशामा क्रान्तिकारी भूमिकाको थालनी गरिसकेको छ । –खवर हव अनलाइनबाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img