बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

समाज सेवा भातको समस्या हो कि समर्पण ?

गते

पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाड मछाड गर्नेहरु बढेका छन् । राजनीतिक दलका कार्ड फ्याँकेर होस् वा कुनै न कुनै संगठन, सञ्जाल वा समूह गठन गरेर किन नहोस् सामाजिक सेवामा लागेकाहरुको भीड बढ्दो छ । के साँच्चै समाज सेवाका लागि समर्पित छ त यो भीड ? के साँच्चै सामाजिक मूल्य, मान्यता र चरित्र बोकेकाहरुले ओगटेका छन् त सामाजिक नेतृत्व ? यो पाटो भने प्रायः छद्मरुपमै रहने गरेको छ ।

 समाजमा हरेक प्रायः मानिसहरु धेरथोर सामाजिक हुन्छन् र आफूलाई सामाजिक कार्यमा सरिक गराउन चाहन्छन् । तर, आफ्नो पारिवारिक अवस्था, सरकारी जागिर लगायतका बाध्यताले पनि कतिपय मानिसहरु समाज सेवामा लाग्ने उच्च मनोकांक्षा भएपनि हरेक सामाजिक कार्यमा आफूलाई समाहित गराउन सकिरहेका हुँदैनन् ।

समाज सेवामा लागिरहेका हरेक व्यक्तिहरुले साँच्चै समाज सेवा गरिरहेका छन् कि छैनन् ? उनीहरुको सामाजिक चरित्र छ कि छैन ? समाजमा मिलेर र समाजलाई अघि बढाउने दिशामा उनीहरुको सकारात्मक सोच हो कि होइन ? र उनीहरुको देखाउने दाँत एउटा र चपाउने दाँत र्को े छ कि छैन ? यो विषय पछिल्लो समयका युवाहरुमाझ चर्चाको विषय हुने गरेको छ । दुईचार जना युवा हुँदा होस् वा चियागफ किन नहुन् ? सामाजिक नेतृत्व गररहेकाहरले खेलेको भूमिका र उनीहरुले देखाएको चरित्र यतिबेला वहसको विषय बन्न थालेको छ ।

यतिबेला सबै समाजका व्यक्तित्वहरु पुरै निरक्षर छैनन्, पुरै अन्धभक्त र पुरै समाजप्रति अनभिज्ञ छैनन् । हिजो बाउबाजेको पालामा आँखा चिम्लेर ल्याप्चे लगाउने जमानाको पुरै अन्त्य भइसकेकाले छद्मरुपमा समाजसेवाभित्र बेइमानी गर्नेहरु क्रमशः नबाहिरिई सुखै छैन ।

सामाजिक क्षेत्रभित्रको बढ्दो राजनीतिकरणका कारण पनि त्यस्ता कामचोरहरुले धेरै अवसर पाएका हुन सक्छन् ।आफ्नो पार्टीप्रति आस्था राखेकै आधारमा अयोग्यलाई पनि योग्य देख्ने पार्टीगत सिष्टमकै कारण सामाजिक क्षेत्रभित्र थप विकृति बढेको हो । गाउँ विकास समितिका हरेक विकास निर्माण कार्यहरु हुन् वा सामाजिक तथा परोपकारी कार्य किन नहुन् ? आफ्नो फेवरको मान्छेलाई भाइटल पोष्ट दिनैपर्ने, आफ्ना नातागोता र क्षमतै नभएका मान्छेलाई पनि सामाजिक क्षेत्रको अगुवा बनाउनैपर्ने जुन परिपाटीको विकास भएको छ, यसले उनीहरुमा काम देखाउने भन्दा पनि नाम देखाउने प्रतिस्पर्धा चर्को रुपमा हावी भएको छ ।

सामाजिक अगुवा हुनका लागि म योग्य छ कि छैन ? सामाजिक क्षेत्रमा लाग्ने मान्छेले पहिला आफैले आफैलाई कसी लगाउन जरुरी छ । प्रत्येक सामाजिक व्यक्तिमा ‘म’को ठाउँमा ‘हामी’ भन्ने संकल्प छ कि छैन ? न्यायका आधारमा गुण र दोष केलाउने चश्मा छ कि छैन ? सामाजिक पदको दुरुपयोग नगरी आर्थिक पादर्शिताका मामलामा फराकिलो सोच छ कि छैन ? यसप्रति सामाजिक अगुवाहरु सचेत बन्नैपर्छ । यसतर्फ अबबा नागरिकहरु सचेत बन्दै गइरहेका छन् ।

सामाजिक पद धारण गर्दैमा सबै मान्छेहरुमा सामाजिक भावना छ भन्ने कुरा रहँदैन । यो पटक पटकका सामाजिक क्षेत्रमा लागेका मानिसहरुको असामाजिक चरित्रहरुबाट प्रष्ट हुँदै आएको छ । गफमा बडो सामाजिक भनाउँदाहरुहरु पनि समयसँगै आफ्नो सामाजिक चरित्र गुमाउँदै गएका छन् । हरेक सामाजिक क्षेत्रका व्यक्तिहरुलाई हेर्ने हो भने सबैमा सबै असामाजिक छन् भन्ने पनि होइन ।

कतिपय सामाजिक अग्रजहरु जो आफ्नो निजी सम्पत्तिलाई समाजको एउटा अंश सम्झेर लागिरहेका छन् उनीहरु समाजको एउटा असल पाटो हुन् र उनीहरुलाई इतिहासले पनि सम्झने ठाउँ रहनेछ तर गोजीको दुई पैसा खर्च नगरीकन विहानदेखि बेलुकासम्म सामाजिक पैसामा डट्नेहरुको पनि ठूलै लस्कर छ यो समाजमा । सामाजिक पद र सामाजिक व्यक्तित्वको खोल ओडेर सिंगो समाजका आँखामा धुलो छर्कँदै व्यापार गर्नैका लागि र चुस्की लगाउनैका लागि गरिएको समाजसेवा सायद अब धेरै दिन टिक्नुहुन्न ।

जिल्लाभित्र कतिपय सामाजिक संघसंस्था, व्यापारिक संघसंस्था सबैमा सामाजिक चरित्र भन्दा पनि व्यक्तिगत मनोमानी हावी भइरहेको कुराहरुले व्यापक चर्चा पाउन थालिरहेको छ । सबैको प्रतिनिधित्व हुने त्यस्ता संघसंस्थाहरुले सामाजिक न्यायका आधारमा काम गर्न सकेका छौ कि छैनौं ? हरेक कार्यक्रम तथा अवसरहरुमा सबैको प्रतिधित्व हुन सकेको छ कि छैन ? प्रत्येक संस्थागत कामकाज र क्रियाकलापमा कोटेशन प्रणालीलाई लत्याउँदै कतै नातावाद कृपावादको हावी भएको त छैन ? यी धेरै प्रश्नहरुको उत्तर खोजिरहेको छ समाज ।

एकाध मानिसलाई हातमा लिएर सिंगो समाजमालाई अन्यौलमा राख्ने संस्कार समग्र समाजका लागि गम्भीर र सोच्नैपर्ने विषय बनेको छ । हामी चाहन्छौं ‘हात्तीले पुच्छर हल्लाओस् तर पुच्छरले हात्ती हल्लाउनु हुँदैन । यो समाजलाई पाच्य पनि हुँदैन । समाजमा देखिका यस्ता असामान्य प्रवृत्तिहरु, श्रृङ्खलाहरु क्रमशः अबको समाजले साम्य पार्नेछ र आगामी दिनहरुमा सामाजिक क्षेत्रभित्रको छद्म पाटो केलाउँदै सामाजिक संस्कार र चरित्र बोकेका र आफू कतिबेला के बोलेँ भन्ने राम्रो हेक्का र भिजन भएका व्यक्तिहरुलाई जिम्मेवारी दिनेछ ।

गुट, उपगुटमा विभाजित यो समाज, घृणित राजनीति खेलका लागि प्रयोग थलो बन्नु हुँदैन । समाज जसरी समृद्ध बन्छ, जसरी सामाजिक न्याय प्राप्त हुन्छ, सोही हिसावले अगाडि बढाउनुपर्छ । समाज हाम्रो हो र हामी भएको समाज परिवर्तनशील, युगसापेक्ष र विकासका हिसावले अग्र हुनुपर्छ भन्ने समाजले चाहेको हुन्छ । आशा गरौं, समाजको यो भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्माआलोचना गर्न सक्ने इमान्दार समाजिक व्यक्तिहरुलाई अब समाजले चिन्नुपर्छ र अगाडि ल्याउनुपर्छ ।

-शिवालय ८,कुश्मा, पर्वत

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img