बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

रकम हत्याएर राज्य बेखबर नबनोस्

गते

सबेरै बिस्तरामा फोन आयो– ‘बाबु मेरो औषधि सकियो, लिएर आइज है !’ मैले महीनाको एकपटक प्रायः सुन्दै आएको नियमित आवाज हो यो । ‘ओपन हर्ट सर्जरी’ बाट जसोतसो तङ्ग्रिएकी मेरी आमा महीनैपिच्छे औषधिको पीर बोलिरहनुहुन्छ । तथापि म आफैं पनि औषधि सकिए/नसकिएकोे ख्याल गरिरहेकै हुन्छु । महीनैपिच्छे खानुपर्ने औषधि अलिक लामो समयको लागि लगे पनि हुन्थ्यो तर म त्यसो पनि गर्न सकिरहेको छैन ।

मुटुमा प्लाष्टिकको भल्भ बोकेर मेरी बूढी आमा तङ्ग्रिएको पनि ७/८ वर्ष भइसक्यो । तर आज पनि आमालाई औषधिको पिरले चिमोटिरहेको हुन्छ । हुन त यो सानो प्रतिनिधि समस्या हो राज्यका लागि तर आमा यसलाई महत्त्वका साथ मनमा लिइरहनुहुन्छ । मेरी आमा र स्वयं मेरा लागि भने यो प्रधान विषय बनिरहेको छ । नबनोस् पनि कसरी ? आमाको जीवन नै यिनै गोटी (वार्फ/फारिन र मायोक्सिन-औषधि)मा अडेको वर्षौं वर्ष भइसक्यो ।

पहिले–पहिले थुप्रै मानिस मुटुको भल्भ साँघुरिने र त्यो खालको समस्याको उपचार वा प्रविधि नेपालमा नभित्रिएकै कारण मृत्युवरण गर्नुपरेको घटना मेरो दिमागमा ताजै छन् । तर भाग्य भनौं, मेरी आमाको मुटुको भल्भ साँघुरिने बेलासम्म नेपालमै प्लाष्टिकको भल्भ फेर्न सकिने प्रविधि भित्रियो । त्यो किसिमको विज्ञता, सीप र क्षमता नेपालकै चिकित्सकमा रह्यो । परिमाणतः अरू धेरैको प्राण लिएको रोगबाट मेरी आमाले बाँच्ने अवसर प्राप्त गर्नुभयो । शायद त्यो बेला धेरैको उपचार भइरहेको थिएन नेपालमा । भर्खर–भर्खर स्वास्थ्यमा फड्को मार्दै गरेको नेपालमा यो सुविधा प्राप्त हुनु आफैंमा खुशीको पल थियो मेरा लागि ।

धेरैको मन मुटुमा बस्न सफल डा. भगवान कोइरालाको नेतृत्वमा कुशल मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई सहितको टीमको सफल प्रयासपछि आजसम्म पनि आमा यिनै गोटीको भरथेगमा बाँचिरहनुभएको छ, हाँसिरहनुभएको छ ।

त्यसैले मूल्यमा साना होलान् तर यी गोटी मेरो आमाका लागि अथाह छन्, मूल्यवान् छन् । यिनको अभावमा जीवन वास्तवमा जीवन रहँदैन र त आमा यिनको जोहोको लागि पिरोलिइनुहुन्छ । त्यसो हुनुमा पनि मेरी बूढी आमाका आफ्नै कथाव्यथा होलान् । र, मैले पनि थुप्रै महीनालाई जोहो हुने गरी औषधि (गोटी) नकिन्नुमा आफ्नै कथाव्यथा पक्कै होलान् ।

राज्यले सर्वसाधारणको लागि भन्दै शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रायः सबै जिल्लामा लागू भइसकेको छ । म एक सचेत नागरिक भएको नाताले मेरो परिवारको पनि स्वास्थ्य बीमा गर्न म चुकेको छैन ।

जनतालाई निःशुल्क औषधोपचार गर्नुपर्ने अभिभावकीय जिम्मेवारीमा रहेको राज्यप्रणाली किन रकम लिएका औषधि समेत समयमा दिन सकिरहेको छैन ? यो समग्र प्रणालीमा को–कहाँ–कति दोषी छ ?

बीमाबाट प्राप्त हुने सेवा–सुविधा र उपलब्ध हुने औषधिको लामो सूची मैले पनि घोकेको छु । त्यसैले त आमाको बीमाबाट प्राप्त हुने औषधि भरसक बीमा कार्यक्रमबाटै लिनका लागि निजी क्लिनिक नधाउने कोशिश गरेको छु । शायद म जत्तिकै पनि सूची नघोक्नेहरू कति आमा–बुवा हुनुहुन्छ होला ? कति बिरामी बुवाआमाको परिवार हुनुहुन्छ होला । उपलब्ध गराउँछौं भनी किटान गरिएका औषधिहरू किन समयमा प्राप्त भइरहेका छैनन् ?

यो विषयले मलाई मात्र होइन म जस्तै थुप्रै वृद्ध बुवाआमाका छोराछोरी, नाति–नातिनाहरूलाई पिरोलिरहेको हुनुपर्छ ।

स्वास्थ्य बीमा गरेको मैले पाएसम्म बाहिर औषधि किन्दिनँ । बिग्रिहाल्ने बाहेकको हकमा बिहानै चाहिने औषधि पनि सकेसम्म १० बजोस् र बीमा कार्यक्रमबाटै लिउँला भनेर कुरेर बस्ने बानी पारेको छु । १० बज्न नपाउँदै कार्यालय पुग्दा म जस्तै थुप्रै सेवाग्राहीको लामै लाइन बनिसकेको हुन्छ । कोरोनाको महामारीका बीच आफ्ना अरू महत्वपूर्ण कामहरू थाती राखेर घडी हेर्दै लाइनमा बस्नुको पीडा आफ्नो ठाउँमा कति छ कति । सबैले सामाजिक दूरी कायम नगरिदिंदा हुने जोखिम उत्तिकै हुने नै भयो । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि अटेरी गर्ने हाम्रो मनोवृत्ति त्यहाँ पनि हावी छ । हामी जबसम्म आफूलाई पर्दैन, तबसम्म सचेत हुँदैनौं अर्थात् चेत्दैनौं । भीडभाड र हूलका बीच बीमा कार्ड देखाएर सानो स्लिप प्राप्त गर्नु नै औषधि प्राप्त गरे वा सो सरह लाग्छ । यति भइसकेपछि डाक्टरलाई भेट्नु र औषधि लेखाउनका लागि पुनः लाइनमा बस्नु अर्को भारी समय हो । यी सबै प्रक्रिया पूरा गर्न दुई÷तीन÷चार घण्टासम्मको समय त लाग्ने नै भयो ।

म सदरमुकाममा बस्नेका लागि हो यो समय तर गाउँबाट आउनेहरूका लागि त दिन नै बित्छ । यतिका प्रक्रिया पूरा गरेपछि पुनः औषधि लिने ठाउँमा लाइन बसिरहनुपर्ने हुन्छ । सामाजिक दूरी कायम गर्ने भनिए पनि सो अनुसारको मापदण्ड कसैले पूरा गरेको हुँदैन त्यहाँ । तथापि म आफूले सकेजति मापदण्ड पूरा गरेर बसिरहेको हुन्छु । लामो प्रतीक्षापछि हत्तनपत्त डाक्टर सा’पले लेखिदिएको औषधिको लिष्ट भित्र दिन्छु । एकाध पटक बाहेक औषधि पाउन सकिरहेको हुन्नँ ।

भित्रबाट आवाज आउँछ– ‘ओहो ! यो औषधि त आएको छैन नि !’

‘किन सर ?’ – म प्रश्न गर्छु ।

‘यो त हामीले लिष्ट पठाएको हो, उताबाट पठाइदिएको छैन ।’

म पुनः प्रश्न गर्छु– ‘बीमा गरिएका व्यक्तिहरूले पाउनुपर्ने सेवा सुविधा र औषधिको लिष्टमा भएको यो औषधि यसरी छैन भनेर हुन्छ त ?’

भित्रबाट आवाज आउँछ– ‘हामी के गरौं, उनीहरूले पठाइदिंदैनन् ।’

यो स्वास्थ्य कार्यालयमा सधैं भइरहने सवाल–जवाफ हो । यो पटकसँग दुई वर्ष भयो मेरो परिवारको स्वास्थ्य बीमा गरेको । कोटेशनबाट औषधि आयात हुन्छ भन्ने मात्र बुझेको मैले त्यो बीचमा के–के हुन्छन् ? किन सबै औषधि आउँदैनन् ? यो भित्रको गहिराइ भित्र म छिर्न चाहिनँ । ठेकेदारी प्रथाबाट ल्याइने औषधि आयात हुने बाटो खोतल्न म चाहिनँ । तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राज्यले नै तत्तत् औषधि उपलब्ध गराउँछु भनेर अग्रिम रकम लिएको हकमा उल्लिखित औषधि जसरी पनि उपलब्ध गराइएको हुनुपर्छ भन्ने कुरामा म अडिग छु । म मात्र प्रतिनिधि हुँ यो घटनाको । म जस्तै थुप्रै पीडित हुनुहुन्छ । राज्यले यति गैरजिम्मेवार बनेर दिन्छु भनेको औषधि नदिनु कहाँसम्मको अन्याय हो ?

म जिल्ला सदरमुकाममा बस्ने र सम्बन्धित निकायमा फोन गरेर गुनासोसम्म सुनाउन सक्ने सामथ्र्य राख्छु र त ‘बीमाबाट उपलब्ध गराउने सेवा तथा औषधिको सूचीमा उल्लेख गरिएका’ मेरो आमाको लागि चाहिने औषधि पाउन सकिरहेको छैन भने दूरदराजका बुवा–आमा र उनीहरूको परिवारले के बीमामा उल्लेख गरिएका सबै औषधि समयमा पाइरहेका होलान् ? मलाई यसप्रति गम्भीर संशय छ, शंका छ ।

जनतालाई निःशुल्क औषधोपचार गर्नुपर्ने अभिभावकीय जिम्मेवारीमा रहेको राज्यप्रणाली किन रकम लिएका औषधि समेत समयमा दिन सकिरहेको छैन ? यो समग्र प्रणालीमा को–कहाँ–कति दोषी छ ? यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।

म र म जस्तै आम नागरिकले तिरेको बीमा बापतको रकमबाट तोकिए बमोजिमका सेवा तथा औषधि किन पाइनँ भनेर आवाज उठाउन चाहन्छु । एक सचेत नागरिकको हैसियतले बेलैमा सम्बन्धित पक्षको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।

मेरी आमाको औषधिसँग जोडिएको यो सानो प्रतिनिधि घटना मेरो मात्र होइन । यो समाजको साझा घटना हो । अरू थुप्रै बुवा–आमाहरूको साझा प्रतिनिधि सवाल हो । हामी सबै सचेत वर्गले खबरदारी गर्नुपर्ने विषय हो । जनताको जीवन रक्षा गर्ने दायित्व बोकेको राज्य र सम्बन्धित निकाय बीमा बापत अग्रिम रकम हत्याएर सेवा–सुविधा दिनतर्फ बेखबर नबनोस् । एक सेवाग्राही र सचेत नागरिकको तर्फबाट सम्बन्धित सरोकारवालालाई निरन्तर घच्घच्याउन चाहन्छु ।

(कुश्मा नपा–१०, पर्वत)

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img