बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

विकासभित्रको अविकास !

गते

  • गोपिकृष्ण ढुंगाना

भ्रष्टाचार र बेरुजुको चाङमा समृद्धिको सपना कहिलेसम्म देखिरहने ? मुलुकको पछौटेपन र अविकासको पेटारो नागरिकले कतिञ्जेल खोलिरहने ?

‘विकास’ विश्वकै साझा आवश्यकता हो अनि ‘अविकास’ सबैको साझा शत्रु। यस जगत्मा रहेका झन्डै आठ अर्ब जीवन अर्थात् सचेत प्राणी मानिसको ‘अल्टिमेट गोल’ हो, विकास। अविकासले ‘घटाउँदै’ लैजान्छ भने विकासले ‘बढाउँदै’ लैजान्छ। विकासको चाहना नगर्ने अपवादमा होलान् तर पनि किन हुँदैन विकास ? सम्भावना नभएर विकास/समृद्धि नहुनु एउटा बाध्यात्मक अवस्था होला। नेपाल प्रशस्तै सम्भावना भएर पनि विकासको गतिमा बग्न सकेको छैन, ‘अविकास’को चपेटामा चेपिइरहेको छ। तत्कालका आवश्यकता पूरा गर्न नसकिरहेको नेपालले ५० वर्षपछिको विकासको परिकल्पना कसरी गर्ला ? यही अनुत्तरित प्रश्नले तीन करोड नेपाली सरकारको नेतृत्व गर्न तम्सिने दलहरूलाई प्रत्येक पाँच वर्षमा प्रश्न गरिरहेकै हुन्छन्। नेताहरूप्रति पटकपटक वितृष्णाको नदी बगाइरहेकै हुन्छन्।

धन भएर गरिब हुने अवस्था हुनु भनेको भएको साधन र स्रोतको सदुपयोग गर्न नसक्नु हो, नजान्नु हो। सर पल कोलियरले कुनै पनि मुलुक ‘अविकसित’ हुने/भइरहने कारण चारवटा उल्लेख गरेका छन्, आन्तरिक द्वन्द्व/युद्ध, प्राकृतिक सम्पदामाथि दुरुपयोगयुक्त निर्भरता, शासन प्रणालीमा कमजोरीपन वा निकम्मापन र भूपरिवेष्टितपना र अप्ठ्यारा छिमेकी। अविकसित र विपन्न मुलुकहरूको लामो अध्ययनपछि ‘द बटम्स अफ बिलियन्स’ पुस्तक लेखेका उनले भनेझैं नेपाल पनि अविकासका चारवटै जालोमा अल्झिरहेको छ। विगत बिर्सौं, २००७ सालपछि कुनै नेता जन्मिएनन् जसले यी ‘चार’मात्र चिर्न सकुन्। मुलुकभित्रकै प्राकृतिक स्रोतलाई मात्र सदुपयोग गर्न सक्ने हो भने नेपालले कम्तीमा १० गुणा फड्को मार्न सक्छ।

सडक बन्छ, विकास त हुन्छ तर बर्खा लाग्नासाथ बाटो बग्छ। अनि बग्छ, बस्ती पनि। धनजनको क्षति हुन्छ। खानेपानीका स्रोत/मुहान सुक्छन्। सिँचाइ ठप्प हुन्छ। करोडौं खर्चिएका पुल वर्षदिनमै भत्किन्छन्।

नेपालको अविकास बुझ्न समकालीन विश्वको गरिबी र समृद्धि दुवै पक्षलाई अध्ययन, मनन् र विश्लेषण गर्नु आवश्यक हुन्छ। सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएको यथार्थ विश्वसामु छ। यस अर्थमा झन्डै पाँच सय वर्षअघि जन्मिएको अमेरिका विश्वकै महाशक्ति राष्ट्र मानिन्छ। अहिले विश्वकै नम्बर एक हुन लागेको चीन नेपालसँगै सीमा जोडिएको देश हो। जसले विकासको खास बिज रोपेको दुई सय वर्ष पुगेको छैन। भनिन्छ, १५ सय वर्षअघिसम्म युरोपका थुप्रै देश विश्वमाझ चिनिएकै थिएनन्। अर्थात्, विकास नभएकै कारण अस्तित्वमा थिएनन् जो अहिले विश्वलाई ‘विकासको पाठ’ सिकाइरहेका छन्। तीनतिर सीमा जोडिएको भारत विकासमा ‘विश्व प्रतिस्पर्धा’मा छ।

१० हजार वर्षअघिको समयलाई ढुंगे युगले चिन्छौं, बुझ्छौं। त्यसयता मात्र मानवले खेतीपाती गर्न थालेको र सम्पत्ति आर्जन गर्न थालेको इतिहास पाइन्छ। नेपाल १० हजार वर्षअघिदेखि अस्तित्वमा छ। तर २१औं शताब्दीको उत्तराद्र्धमा आइपुग्दा पनि अमेरिका र युरोप नेपालीका लागि सपनाका देश लाग्छन्। एसियामै रहेर चीन, सिंगापुर, जापान आदिले विकासबाटै विश्वमा आफूलाई चिनाएका छन्। अझ समृद्धिको चुचुरो चुमिरहेका छन्। त्यसो त विकास र समृद्धिको चुचुरो चुम्ने यात्रा सहज छैन। विकट गाउँठाउँको ‘अफरोड’ यात्रा हो विकास। फोहोरले आक्रान्त एसियाको अँध्यारो कुनो मानिने सिंगापुरको विकास र समृद्धिको यात्राका संघर्ष र कष्टकर दिनहरू नेपालले पढ्नै पर्छ।

चीनको ख्वासी गाउँको समृद्धिका लागि दिलोज्यान दिने ऊ रन पाओ र तिनलाई साथ दिने चिनियाँ जनताको पाखुरा र परिश्रम बुझ्नै पर्छ। सरकार हाँक्ने नेतृत्वमा दूरदर्शी दृष्टिकोण, सोहीअनुसारको चिन्तन, दृढ इच्छाशक्ति, निरन्तरको प्रयास र शासकीय कुशलता सबै हुन जरुरी छ। बिना चुनौती कुनै देश यसै समृद्ध बनेका छैनन्। ‘विकास र समृद्धि’का लागि हरेक देशका आआफ्नै कथाव्यथा छन्। बिदेसिएका लाखौं नेपाली युवा र ‘ब्रेन ड्रेन’ भएका भनिएका ‘थिंक ट्यांक’ नेपालको समस्या हो भनेर विकासले गति लिनेवाला छैन। जब नेतृत्वले नागरिकको विश्वास जित्न थाल्छ, विकासको जग बसाउन थाल्छ तब यी सबै स्वतः स्वदेश फर्कन थाल्नेछन्। उचालिएका लाखौं युवाका पैताला स्वदेशमै टेकिनेछन्। ‘त्यो’ वातावरण बनेपछि विदेशी दक्ष युवा जनशक्तिसमेत नेपाल आउनेछ।

नेपालमा थिंक ट्यांक, दक्ष जनशक्ति र युवाको कमी भएर ‘अविकास’ भएकै होइन। चीनका देङ र सी, दक्षिण कोरियाका पार्क, सिंगापुरका लीजस्ता नेतृत्व अघि सरेपछि देश विकासमा सबै अंगले स्वतस्फूर्त काम गर्नेछन्। होइन भने चीन, अमेरिका र युरोपका देशहरूले विकास गर्न थालेको वर्ष हेरेर नेपालको सन्दर्भ जोड्ने हो भने कसरी सम्भव होला विकास ? भन्ने प्रश्न मात्र तेर्सिरहन्छ। जबकि झन्डै १० हजार वर्षअघिदेखि अस्तित्वमा आएको नेपालको अवस्था दयनीय नै छ। वैदिक सभ्यतामा समयलाई चार कालखण्डमा विभाजन गरिएको पाइन्छ, सत्य युग, त्रेता युग, द्वापर युग र कलियुग। पौराणिक ग्रन्थहरूमा सत्य युगमा आजको नेपाललाई सत्यवती भनिन्थ्यो। त्रेता युगमा आजको नेपाललाई तपोवन भनिन्थ्यो। द्वापर युगमा आजको नेपालको नाम मुक्तिसोपान रह्यो। कलियुगमा ‘नेपाल’ भयो भनिन्छ। कौटिल्यको अर्थशास्त्रमा पनि नेपालको नाम छ। यी सबै यथार्थले नेपालको विगत छर्लंग बनाउँछ। अब प्रश्न उठ्छ कि नेपाल किन आजसम्म विकसित हुन सकेन ? २५ सय वर्षअघिको किराँतकाल र स्वर्णिमकाल मानिने लिच्छविकालमा सुरुआत भएको नेपालको विकासले यतिका समय किन गन्तव्य चुम्न सकेन ?

मल्लकालमा भएका कलाकौशललाई किन हामीले आजसम्म विश्वव्यापी बनाउन सकेनौं ? प्रकृति र भूगोलले साथ दिएको नेपाललाई हामी नेपालीले किन विश्वमाझ चम्काउन सकेनौं ?
फर्पिङमा बिजुली बल्दा भारत र चीनमा बिजुली बलेकै थिएन। विश्वमै जलस्रोतको धनी देश नेपालले पानीको मात्र सदुपयोग गर्न सकेको भए ? दुर्भाग्य, उर्वर नेपालका कैयौं हेक्टर जमिन बाँझा छन्। सिँचाइको अभावमा बर्सेनि लाखौं किसान पिरोलिन्छन्। पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ, स्वयम्भू, लुम्बिनी यस्ता कैयौं सम्पदा छन् जसको ‘ब्रान्डिङ’मात्र गर्न सके पनि बर्सेनि विश्वका करोडौं पर्यटक नेपाल भित्रिन्छन्। तर नेपालको विकास किन अविकासमै सीमित छ ?

राणाकाललाई विकासको बाधक मान्ने हो भने पनि त्यसपछिका सात दशकमा के कति विकास भयो ? वा किन अविकासमै नेपाल अल्झिरहेको छ ? किन विकासका हरेक विषयमा पिछडिएको छ ? सात दशकमा कुन कुन देश कहाँबाट कहाँ पुगे ? विश्लेषण जरुरी छ। यति बुझेर मात्र नेपालमा विकास सम्भव छैन। ती देशको विकासको ग्राफ बनाएर हेरे त्यसबेलाको नेपाल र अहिलेको नेपालको विकासलाई स्पष्ट देख्न सकिन्छ। किन यसमा कुनै नेताको अध्ययन, अनुसन्धान हुँदैन ? के सामाजिक सञ्जालमा लेखिने ‘राष्ट्रवाद’का शब्दले देश विकास हुन्छ ? के नेताले निर्वाचनताका जनसमक्ष ल्याउने ‘घोषणापत्र’हरूले नेपालको विकास भएको छ ? के भाषणले मक्ख पारेर मतदाताबाट आफ्नो ‘आसन’ उचो बनाउँदैमा देश बन्छ ? हरेकले सत्ता सम्हालेपछि तत्तत् समयमा विश्वका अन्य देशमा भएको विकासको सापेक्षित अध्ययन गर्नुपर्छ कि पर्दैन ? पञ्चायतकाललाई छोडिदिऔं, २००७ सालमा प्रजातन्त्र आएपछिका बाँकी शासकको नेपालको ‘अविकास’मा के कस्तो र कति भूमिका छ ? अविकासका कारक तिनलाई यसै छोडिदिने हो भने अबका शासकले पनि उही चरित्र नदोहोर्‍याउँलान् भन्ने के ग्यारेन्टी छ ?

२००७ साल सालदेखिको हिसाब पनि नखोजौं। बहुदलीय व्यवस्था आएपछि अर्थात् २०४६ पछिका ३३ वर्षमा नेपालमा भएको विकासको सूची तयार पारौं न। ३३ वर्षमा विश्वका कुनकुन देश कहाँबाट कहाँ पुगे ? यही सानो अंकगणित काफी छ नेपालको अविकास हेर्न र बुझ्न। अब नेपालको अविकासलाई स्वाभाविक मान्न सकिन्न। विश्वका विकसित देश चिहाउने हो भने विकासका लागि कुल बजेटको ७० प्रतिशत बजेट विकासमा खर्चिनु पर्छ। नेपालको अवस्था ? कुनै पनि व्यवस्थाले अवस्था अनुकूल बनाउन सकेन भने विकास सम्भव छैन। समयअनुसार सरकार र नागरिक बदलिन नसक्नु अविकास हो। यो २१औं शताब्दी सञ्चार तथा सूचना–प्रविधिको युग हो। विकासलाई सूचना–प्रविधिमा नजोडेसम्म विकासले गति लिँदैन। विकास भए पनि दिगो र सहज हुँदैन। तत्काल करोडौं नागरिकका लागि पहुँचयोग्य हुँदैन, हरसमय ग्रहणयोग्य पनि हुँदैन।
सडक बन्छ, विकास त हुन्छ तर बर्खा लाग्नासाथ बाटो बग्छ। अनि बग्छ, बस्ती पनि। धनजनको क्षति हुन्छ। खानेपानीका स्रोत/मुहान सुक्छन्। सिँचाइ ठप्प हुन्छ। करोडौं खर्चिएका पुल वर्षदिनमै भत्किन्छन्। न बनेका सडक बाह्रै महिना प्रयोगमा आउँछन्। ‘विकास’का नाममा हुने ‘अविकास’का यस्ता थुप्रै उदाहरण छन्। त्यसतर्फ योजनाकारदेखि कार्यान्वयन गर्नेसम्म, नेतादेखि जनतासम्म, विकासविद्देखि नागरिक अगुवासम्म सबै सचेत हुनुपर्ने हो। तर छैनन्। हरेक वर्ष नागरिकको जीवनशैली फेरिँदै जानु पर्ने हो। तर छैन। लत्ताकपडादेखि घरायसी सरसमान निश्चित समयमा फेर्नुपर्ने हो। तर नबिग्रिउञ्जेल वा नफुटुञ्जेल अर्थात् जीवनभर चलाइरहेको अवस्था छ। न भ्रष्टाचार घट्छ न गरिबी। न सुशासनले डेरा जमाउँछ न संस्कृतिले सभ्यताको स्तर बढाउँदै लैजान्छ।

सहरी क्षेत्रमा विकासमाथि विकास पनि छ तर दुर्गम बस्तीहरूमा अविकासमाथि अविकास। गरिबी, बालविवाह, अशिक्षा, भ्रष्टाचार, कृषिमाथिको परनिर्भरता, आर्थिक असमानता र संरचनात्मक, संस्थागत र प्राविधिक परिवर्तनको अभाव आदिले देश विकासलाई अविकासतर्फ धकेलिरहेको छ। नेपालले आजका मितिसम्म न सुरुङमा सवारी गुडाउन सकेको छ न ‘फ्लाई ओभर’ प्रयोग गरेर जाम छिचोल्न। न मोनो न त मेट्रो रेल नै चलाउन सकेको छ। अन्य देशमा ५० लेनका सडक प्रयोगमा आइसक्दासम्म नेपालले पुरानो राजमार्गसमेत चार लेनको बनाउन सकेको छैन।

भ्रष्टाचार र बेरुजुको चाङमा समृद्धिको सपना कहिलेसम्म देखिरहने ? मुलुकको पछौटेपन र अविकासको पेटारो नागरिकले कतिञ्जेल खोलिरहने ? राजनीतिक अन्तर्यको गर्भबाट ‘युगपुरुष’को जन्म कहिले होला ? नेपाल र नेपालीलाई आक्रामक विकास चाहिएको छ। नेपालीले ‘विकास’को ‘गोरेटो’ हिँडेको दशकौं भइसक्यो, अब फराकिला र सञ्जालसहितका ‘ब्लाक टप’ गन्तव्य बन्नुपर्छ। राजनीतिक हस्तक्षेपबिनाको थिंक ट्यांकले अनुसन्धानपछि योजनाहरू बनाउन् र समयमै आयोजनाहरू सम्पन्न गरुन्। ‘फास्ट ट्र्याक’ नै ‘स्लो ट्र्याक’मा दौडाउने नेपालले ‘विकास र समृद्धि’को ‘ट्र्याक’लाई कसरी ‘फास्ट’ बनाउला ? समयले दिने जवाफको पर्खाइको विकल्प छैन। अविकासले किचेको नेपालको विकासले कसरी र कहिले पार पाउला ? प्रश्नको पोकोपन्तुरो चाँडै फुकोस्।

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img