बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

बाघको मूर्ति मैले बिगारेको हुँ !

गते

  • नवराज पराजुली

हजुर, त्यो बाघको मूर्ति मैले नै बनाएको हुँ। वा तपाईंको भाषामा, बिगारेको हुँ।

बाघको नराम्रो मूर्ति बनाएकामा तपाईं मविरूद्ध जति खनिनुभयो, त्यति त नेपालका मूर्तिचोरका विरूद्ध पनि बोल्नुभएन होला।

हुन त कसको विरोध गर्ने भनेर छान्नु पनि ‘कला’ हो।

वास्तवमा ‘छान्न जान्नु’ नै कला हो।

वाह, तपाईंहरूको कलाचेत!

म खुंखार मूर्तिकार हुँ भनेर धमास लाउँदिनँ। तर मैले जानेको सबभन्दा सुन्दर कला त्यति नै हो। र, म मूर्ति बनाएरै आफूलाई आजसम्म बचाइरहेको छु।

जानेमध्येको सबभन्दा सुन्दर गरेर आफूलाई बचाउनु पाप होइन।

कसैले ‘तँलाई बाघको मूर्ति बनाउन आउँछ?’ भनेर सोध्दा, ‘म खासै गतिलो बनाउन जान्दिनँ, मलाई यो काम नदिनुस्, मभन्दा राम्रो बनाउने अरू नै छन्, उतै दिनूस्’ भन्ने गरीको महान होइन म।

म पहिले जिउँदो मान्छे हुँ। अनि मात्रै कलाकार हुँ। मेरो लागि बाघको पेटलाई जिउँदोजस्तो बनाउनु जति महत्त्वपूर्ण हो, त्योभन्दा महत्त्वपूर्ण आफ्नो पेटलाई जिउँदो बनाउनु हो।

यदि मैले बनाएको बाघको त्यो मूर्ति झुर छ भने म धेरै पहिलेदेखि यस्तै झुर मूर्तिहरू बनाइरहेको छु। मलाई यो बनाउन लगाउनेले पनि मैले पहिले बनाएका झुर मूर्तिहरू देखेको थियो। तर पनि उसले मलाई यो मूर्ति बनाउन लगायो।

भनेपछि, मैले झुर मूर्ति बनाउँछु भन्ने थाहा पाईपाई जसले मलाई मूर्ति बनाउन लगायो, कलाचेत त उसको झुर रहेछ होइन?

अब तपाईंको कलाचेतले उसलाई गाली गर्न थाल्ने होला जसले मलाई छान्यो।

तपाईं भन्नुहोला— मूर्ति त्यति झुर बनाउँछ भन्ने थाहा हुँदा हुँदै किन उसैलाई छानेको? उसले मूर्ति बिगारेको पहिले कत्तिपटक देखिसकेको रहेछ त!

म तपाईंलाई सोधौं, ‘यो देश यति झुर बनाउँछन् भन्ने थाहा हुँदाहुँदै तपाईंले किन उनीहरूलाई नै छानेको? उनीहरूले देश बिगारेको पहिले कत्तिपटक देखिसकेको रहेछ त!’

छान्नु कला हो।

वास्तवमा छान्न जान्नु नै कला हो।

वाह, तपाईंहरूको कलाचेत!

मैले बनाएको बाघ कम्तीमा छेपारोजस्तो देखिएको रहेछ। छेपारोले आफ्नो पुच्छर आफैं हल्लाउँछ। यिनीहरूले बनाएको देश हेर्नुस्, यो देश माउसुलीको पुच्छरजस्तो भएको छ। कुन दिन कसले छोइदिन्छ र चुँडिनुपर्छ भन्ने डर छ। र, त्यो छुवाइबाट आफूलाई बचाउन यिनीहरू जतिखेर जसको जे पनि छुन तयार छन्।

मैले बाघको मूर्ति बिगारेको साँच्चैको बाघलाई थाहा छैन। कहिल्यै थाहा नपाउला। यदि थाहा पायो भने उसले मलाई के गर्छ, म सोच्न सक्छु!

तर उनीहरूले वर्षौंदेखि यो देश बिगारेको त तपाईंलाई ‘थाहा छ’।

थाहा पाएर पनि केही नगर्नु भनेको थाहा नपाउनुभन्दा कमजोर कुरा हो।

म सुन्दर कलाकार होइन। तर सुन्दर कला के हो थाहा छ। थाहा हुँदाहुँदै पनि मैले सुन्दर कला सिर्जना गर्न सकिनँ।

थाहा भएर पनि थाहा भएको गर्न नसक्नु थाहा हुनुभन्दा पीडादायी कुरा हो।

सक्ने भए म अरू नै काम छान्थेँ। सकेको भए त्यही मूर्ति झन् सुन्दर बनाउथेँ। ममा त्यो मूर्ति सुन्दर बनाउन नसक्नुको ग्लानी छ।

तपाईं यो देश आफैं बनाउन सक्नुहुन्थेन होला। तर बिगार्नेबाट जोगाउन सक्नुहुन्थ्यो।

सक्ने कुरा नगर्नु भनेको गर्न नसक्नुभन्दा कमजोर कुरा हो।

चुनाव सम्झिनुस्। तपाईंले छान्नुभएकाहरूको चुनावी नारा सम्झिनुस्। सम्झिनुस्, नारामा कति थोत्रा शब्दहरूलाई, कति बासी शैलीमा जोडिएका थिए।

तपाईंले छान्नुभएकाहरूले चुनावमा छानेका नाराहरूबाट उनीहरूको काव्यचेत थाहा हुन्छ।

चुनावताका उनीहरूले भाषणमा एकअर्कालाई गाली गर्दा छानेका शब्द र वाक्यहरू सम्झिनुस्। र, तिनै भाषणमा तपाईंले बजाएका तालीको ताल सम्झिनुस्।

वाह, तपाईंहरूको भाषाचेत!

हरेक चुनावमा एउटै झुट सुनाइरहेका थिए जसमा तपाईंले दिएको भोटको मजाक बनाइएको थियो। तर आफैंलाई मजाक बनाइएको मजाकमा तपाईं हल्लीहल्ली हाँसिरहनुभएको थियो।

वाह, तपाईंहरूको हास्यचेत!

तपाईंले छानेका कत्ति जना (सबै जना होइन) चुनाव जितेपछि तपाईंलाई उडाउँदै मनमनै भन्छन् होला — म धन र शक्ति कमाउनका लागि सत्य गुमाउन तयार छु। अर्कोचोटि त्यो नयाँ सत्य बनाउनका लागि जति झुट बोल्न पनि तयार छु। मैले जानेकै यत्ति हो। अब म अरू केही गर्न सक्दिनँ। हो, म सुरूमै, म यस्तो अलि थिइनँ। तर धन र शक्ति कमाउने लोभमा अब त म यसरी फसिसकेँ कि मलाई उकास्नका लागि म जनतालाई डुबाउँछु। मैले डुबाउँछु भन्ने थाहा हुँदाहुँदै पनि मैले चलाएको डुंगा छानेर चढ्छन् भने यिनीहरूले आफ्नो अल्पायु आफैंले छानेका हुन्!

शब्दहरूको सुन्दर संयोजन छान्न जाने सुन्दर साहित्य बन्छ।

सुरहरूको सुन्दर संयोजन छान्न जाने सुन्दर संगीत बन्छ।

रङहरूको सुन्दर संयोजन छान्न जाने सुन्दर पेन्टिङ बन्छ।

छान्न जान्नु कला हो।

जीवनमा कला छान्नु झन् सुन्दर कुरा हो।

तर सबभन्दा सुन्दर कला चाहिँ जीवन छान्नु हो।

तपाईंले छानेको जीवनलाई सुन्दर बनाउन कसलाई छान्नुहुन्छ?

यो कुरा मूर्ति बनाउने मान्छे छानेजस्तो होइन। यो कुरा देश बनाउने मान्छे छानेजस्तो होइन। तपाईंको जीवन सुन्दर बनाउने मान्छे त त्यो हो जसलाई तपाईंको हृदयका शब्द थाहा छ, जसलाई तपाईंको मुटुको सुर थाहा छ, जसलाई तपाईंको अस्तित्वको रङ थाहा छ। र, उसलाई कुन शब्द, कुन सुर र कुन रङ कसरी छान्ने भन्ने पनि थाहा छ।

अनि पो तपाईंको हृदयको साहित्य तपाईंजस्तो देखिन्छ।

अनि पो तपाईंको मनको संगीत तपाईंजस्तो सुनिन्छ।

अनि पो तपाईंको अस्तित्वको पेन्टिङ तपाईंजस्तो देखिन्छ।

बाघको मूर्ति छेपारोजस्तो देखियो भनेर यति पिर मानिरहनुभएको तपाईंलाई आफ्नो जिउँदो अस्तित्व आफूजस्तो भए, नभएको पिर छ कि छैन?

तपाईं आफू बाघ नै हुनुपर्ने दबाव आफूलाई किन दिनुहुन्छ? अरू मान्छे डराउँछन् भनेर?

‘तपाईं हुनुहुन्छ कि’ भनेर कोही तपाईंसँग डराउनुभन्दा त ‘तपाईं हुनुहुन्न कि’ भनेर कोही डराउनु प्यारो कुरा होइन?

आफूलाई बाघको जस्तो मूर्तिमा किन देख्न चाहनुहुन्छ? भोलि सासले तपाईंको शरीर छोडेर जानेछ। सास गएसँगै तपाईंले आफ्नो बाघको जस्तो मानेको चाल बन्द हुने छ। तपाईंको हुंकार बन्द हुने छ। आफूलाई बाघै माने पनि जुन बेला सासले तपाईंलाई छोड्छ, तब तपाईं स्वतः मूर्ति बन्नुहुनेछ।

मान्छेलाई मूर्ति त मृत्युले बनाइहाल्छ नि, हामीले त जीवन बनाउने हो !

ट्विटरः @Nawarajpoet -सेतोपाटी

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img