लामो समय पछि वालिङ उद्योग वाणिज्य संघद्वारा वालिङ खेल मैदानमा आयोजित ८औं वालिङ महोत्सवका विषयमा पब्लिक आवाजका सम्पादक अमृत अर्यालले महोत्सव मूल आयोजक समितिका सहसंयोजक तथा वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीसँगको गरेको कुराकानीको यहाँ साभार गरिएको छ।
- ढुंगाना जी आराम हुनुहुन्छ ? महोत्सवको तयारी कहाँ पुग्यो ?
–हजुर, म आराम छु । महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । ठ्यक्कै भन्नुपर्दा करीव ६० प्रतिशत बढीको हाराहारीमा तयारी पुरा भएको छ । - स्टल र मुल आयोजक समितिबारे केहि बताइदिनुस् न ? व्यवसायीहरुले स्टल कसरी बुक गर्न सक्छन् ?
–मेलाको लागि स्टल बुक गर्न स्टल बुकिङङ आवेदन फर्म तयारी अवस्थामा राखिएको छ । यस सम्बन्धमा सहजीकरण गर्न छुट्टै स्टल बुकिङ उपसमितिले कार्य गरिरहेको छ भने सिधै कार्यालयमा सम्पर्क गरेर पनि स्टल बुक गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै स्थानीय उद्यमी तथा व्यावसायीहरुका लागि ३० प्रतिशत छुटमा स्टल बुक गर्न सकिने प्रबन्ध मिलाइएको छ । व्यावसायीहरुले सिधै कार्यालयमा आएर वा उपसमिति संयोजकसँग सम्पर्क गरेर फर्म भरेर स्टल बुक गर्न सक्दछन् । टाढाबाट फोन सम्पर्क गरी बैंक खातामा पेश्की रकम पठाएर पनि बुकिङ गर्न सकिन्छ ।
मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि १५०५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका, वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, पूर्व अध्यक्ष मञ्चका पूर्व अध्यक्षज्यूहरु, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकारज्यूहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरु, उद्योग वाणिज्य संघमा आवद्ध साधारण सदस्यज्यूहरु समेत रहेको मूल आयोजक समिति रहेको छ । यसरी बनेको मूल मूल आयोजक समितिको संयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ । - मेलाको प्रायोजक र सह–प्रायोजकको बारेमा यसपाली कस्तो व्यवस्था गरिएको छ ? कसरी छनौट गर्नुहुन्छ ?
–मेलाको मुख्य प्रायोजकको रुपमा गरिमा विकास बैंक रहेको छ भने सहप्रायोजक र अन्य विभिन्न इभेण्ट प्रायोजकको हकमा हामीले सम्भावित प्रायोजक रसहयोगदाताहरूलाइ पत्राचार गर्ने, प्रत्यक्ष गएर नै भेटघाट गर्ने र सरसरल्लाह गर्ने काम भइरहेको छ । यसको अन्तिम टुंगो लागिसकेको अवस्था छैन । तर बाँकी सबै कुरा अबका एकदुई दिनमा टुंगो लाग्ने क्रममा रहेका छन् । - आठौं वालिङ महोत्वसको मुख्य आर्कषण के के बन्न सक्लान् ?
– मुख्य गरी कृषि प्रदर्शनीलाइ ब्यापक बनाउने, स्थानीय उत्पादनहरु, स्थानीय हस्तकलाका सामग्रीहरु, स्थानीय कलासंस्कृति जगर्ने गर्न नगरस्तरीय रत्यौली प्रतियोगिता, भजन तथा चुड्का प्रतियोगिता, रोइला नाच, घाटु नाच, विद्यालयस्तरीय नृत्य प्रतियोगितारस्याङ्रजा डान्स आइडल सिजन–३, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी, अर्गानीक कफि प्रदर्शनी, उन्नत जातका पशुपंक्षी प्रर्दशनी, वाल उद्यान, स्थानीय तथा राष्ट्रि«य कलाकारहरुको प्रस्तुती लगायत रहेका छन् । - महोत्सवबाट के अपेक्षा गर्न सकिन्छ ?
–यस महोत्सवबाट स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने तथा यहाँका उद्यमीहरुका स्थानीय उत्पादन विक्री वितरण तथा बजारीकरण गर्ने र आर्थिक मन्दीमा फसेको बजारलाई थोरै भएपनि चलायमान बनाउने कार्य यस महोत्सवबाट हुने अपेक्षा गरिएको छ । साथै महोत्सवले वाह्य तथा आन्तरिक पर्यटकलाई थोरै भएपनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । - बाल उद्यान रमाइलो मेलाले जिल्लाको पैसा वाहिरिन्छ भन्ने छ जिल्लाको आर्थिक विकास कसरी सम्भव छ ?
–वाल उद्यान र रमाइलो मेलामा केही रकम ठेकेदारसँग जाने भएतापनि अहिले नेपाली ठेकदारहरू नै बिढ रहेका छन् । पैसा बाहिरिने कुरा त हाम्रो उत्पादन नभएपछि हामीले भात खाँदा, कपडा लगाउँदा, अथवा हरेक क्रियाकलापमा बाहिरै जाने हो । त्यसको लागि हामीले उत्पादनमा जोड दिनु नितान्त जरूरी रहेको छ । यसको लागि राष्ट्रिय नीति पनि सोही अनुकुलको हुनुपर्छ । यहाँका उत्पादनहरूको बजारीकरण, स्थानीय कला संस्कृतिको जगेर्ना हुने तथा स्थानीय रुपमा नयाँ नयाँ प्रतिभाहरु जन्मने अवस्था महोत्सवले जुराइरहेको हुन्छ । त्यस्तै हाम्रा उद्यमीहरु उत्पादन तथा यहाँका कृषि तथा अन्य उत्पादनहरुको प्रचारप्रसार तथा बजारीकरण समेत महोत्सवसँगै भइरहेको हुन्छ । झट्ट हेर्दा महोत्सवका कारण रकम बाहिरिएको जस्तो देखिएतापनि यहाँका उद्यमीहरुको उत्पादनले बजार पाइरहेको हुन्छ र यहाँको आर्थिक विकासमा केही न केही योगदान पुर्याइरहेकै हुन्छ । - अघिल्ला वर्षहरुको महोत्सव भन्दा पृथक केही छन् ?
–त्यस्तो ठूलो भिन्नता त केही पनि छैन तर अघिल्ला वर्षहरुको तुलनामा यो पटक हामीले, कृषि प्रदर्शनी, स्थानीय उत्पादनहरु र स्थानीय कलासंस्कृतिलाई लाई अझ बढी प्रोत्साहन दिने सोंच बनाएका छौं । - वालिङ उद्योग वाणिज्य संघले ७ वटा महोत्सव खेलमैदानमै गरिसकेको छ, तर यस पटक विरोध आयो नि रु तपाइहरुले अन्यत्र महोत्सव गरे हुदैंन, खेलमैदान मै किन ?
–वालिङ बजारको मुख्य सेन्टरमा वालिङ खेल मैदान रहेको र विगतका ७ वटा महोत्सव पनि यही मैदानमा सफल भएको हुनाले यस पटक पनि आयोजकले यही मैदान नै छनौट गरेको हो । यद्यपि अरु खेल मैदानमा गर्नै नहुने भन्ने पनि होइन तर पहिलैनै अन्यत्र सोच नबनाएको र समय घर्किसकेपछि विकल्प देखाइएको भएतापनि समय निकै छोटो भएकोले यसपटक अन्यत्र सार्न नसकिएको हो । समयमै छलफल भएको भए र सोंच बनाएको अवस्थामा अन्यत्र पनि महोत्सव आयोजना गर्न सकिन्थ्यो । - महोत्सवमा आयोजकहरुले आफ्नो आफन्तहरुलाई मात्र टिकट र गेटपास दिन्छन् भन्ने आरोप छ यसपालि टिकट र गेट पास कसरी व्यवस्थित गर्नुहुन्छ ?
–महोत्सवमा हजुरले भनेजस्तो अवस्था नहोला । जहाँसम्म टिकट र गेटपास दिने आफ्नै विधि र प्रक्रिया हुन्छन् । सोही अनुसार टिकट र गेटपास दिइने गरिन्छ । यसपालि पनि टिकट र गेटपासको गलत प्रयोग हुन दिइने छैन । - अन्त्यमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
–प्रथमतः मलाई हजुरको यस मिडियाबाट आफ्ना कुराहरु राख्ने अवसर प्रदान गर्नुभयो । त्यसका लागि पत्रिका र हजुरप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । साथै ८औं वालिङ महोत्सव तपाई हाम्रो साझा महोत्सव हो । यस महोत्सवले स्थानीय कलासंस्कृतिको जगेर्ना गर्दै यहाँका उत्पादनहरुलाई अन्य जिल्लामा पुर्याउन सहयोग पुर्याउनेछ । साथै यस महोत्सवमा राष्ट्रि«य तथा स्थानीय कलाहरुहरुको बेजोड प्रस्तुती रहनेछ । वालिङ खेल मैदानमा लामो समय पछिको वहुप्रतिक्षित महोत्सव भएकोले महोत्सव अवधिभरमा ८ करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा हामीले राखेका छौं । यही माघ १८ देखि २८ सम्म वालिङ खेल मैदानमा आयोजना गरिएको यस महोत्सवमा सम्पूर्ण वालिङबासी, स्याङ्जा जिल्लाबासी, छिमेकी जिल्लाका बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुहरु सम्पूर्णलाई प्रत्येक दिन उपस्थित भई महोत्सव अवलोकन गरिदिनुहुन हार्दिक अनुरोध गर्दै सबैका सबै सहभागी भइदिनुहुन चुल्हे निम्तो टक्र्याउँछु ।
(साभार :पब्लिक आवाज)



















