बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

खाडीमा भेटौंला !

गते

सञ्जीव कार्की

गाउँ रित्तिएर बजार भरिएको छ। अब बजार पनि रित्तिएर देश रित्तिने तरखरमा छ।

वैदेशिक यात्राको प्रक्रिया र प्रयोजन फरकफरक भए पनि अन्ततः यसको मूल उद्देश्य आयआर्जनको लागि नै हो। रोजगारीको अवसर, विकल्प र भरपर्दो आयस्रोत वैदेशिक रोजगारी बनेको छ। वैदेशिक रोजगारी बाध्यता, गन्तव्य, रहर र फेसन भइरहेको छ। यसर्थ वैदेशिक रोजगारीबारे चर्चा चुलिनु र यस सन्दर्भका सकारात्मक, नकारात्मक कुरा आउनु स्वाभाविक छन्। विद्यार्थीको १२ कक्षाको बिदाइ कार्यक्रममा नीराजन मैनालीले आफूजस्तै अर्को साथीलाई यादस्वरूप सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने वाक्यांशले सबैको ध्यान आकृष्ट गरेको छ।

१२ कक्षाका विद्यार्थीले लेखेर स्मृति साटासाट गर्ने क्रममा थुप्रै कुरा लेखेका छन् जस्तोः जापानको यात्रा सफल होस्, कोरिया यात्रा सफलताको कामना, वैदेशिक यात्राको शुभकामना इत्यादि। तर सबैको ध्यान ‘खाडीमा भेटौंला’ले खिच्यो। दुई अक्षरको चिनोमा नेपालको युगको प्रतिबिम्ब बोलेको छ। साहित्यको समाजशास्त्रका आधार स्तम्भ हिप्पोलाइट टेन भन्छन्ः ‘साहित्य विश्लेषणको महŒवपूर्ण आधार क्षण हो। जसले त्यो युग भोग्नेको, अवस्था, विचार, सामाजिक, सांस्कृतिक, राजनीतिक र समयको पेटबोली बोलेको हुन्छ।’

१२ कक्षाका विद्यार्थीले लेखेको छोटो ‘सर्ट साहित्य’मा आजको युगलाई प्रतिनिधित्व गराउने वैदेशिक रोजगारीको समय इंगित भएको छ। साहित्य त्यस्तो चिज र विषय हो, जसले भाषाका माध्यमबाट युग चिनाउँछ। तत्कालीन समाजको परिवेश र परिस्थितिको घटना, परिघटना बोध गराउँछ। समाजको यथार्थ चित्रण गर्छ। ‘खाडीमा भेटौंला’ यसको कारण हो, खाडी अत्यन्त जोखिम भएको र कम आय हुने र गरिबको रोजगारीको अन्तिम विकल्प, गन्तव्य र सपनाको स्थल हो। अझ विशेष र गम्भीर कुरा भर्खरै १२ सकेको विद्यार्थीले भविष्य त्यतै देख्नुमा छ। हाम्रा शिक्षालय, उच्च शिक्षा विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने बनेका हुन् ? किन उच्च शिक्षाको गन्तव्य विदेश बन्छ ?

सन् १२१६ मा कलाकार अरनिको तिब्बत गएदेखि नेपाली कामदार वैदेशिक रोजगारमा जान लागेको कुरा सत्यमोहन जोशीले ‘कलाकार अरनिकोमा’ उल्लेख गरेका छन्। त्यतिबेला ८० जना मूर्तिकारहरू र सहयोगी तिब्बत गएको पढ्न पाइन्छ। सन् १८१४ देखि नै श्रमिकहरू भारत, भुटान बर्मा र मलेसियामा जाने गरेको कुरा पनि पढन पाइन्छ। लाहुरे संस्कृति र वैदेशिक रोजगारीमा जाने संख्या बढेर आज दिनको दुई हजारको हाराहारीमा छ। संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देशमा नेपाली कामदार भएर जाने गरेका छन्। सरकारले श्रम स्वीकृति लिएका १० देशसँग मात्र श्रम सम्झौता गरेको छ। २०४२ सालमा वैदेशिक रोजगार ऐन बन्यो। सोभन्दा सात सय वर्ष पहिलेदेखि नेपाली विदेश जान्थे। विधिवत् रूपमा २०५०÷०५१ देखिमात्र वैदेशिक रोजगारीमा नेपालबाट जानेको तथ्यांक राख्न थालियो। आठ सय जति दर्तावाल मेनपावरले रोजगारीमा नेपाली युवालाई विदेश पठाउने गरेका छन्। २ सय ३७ वर्षको वंशानुगत राजतन्त्र र करिब तीन हजार वर्षको राजतन्त्रको परम्परालाई अन्त्य गरेर देशले नयाँ फड्को मार्‍यो। २०६३÷०६४ देखि रोजगारीमा जाने संख्या वृद्धि भई २ लाख ४ हजार भयो। यो बढ्दो क्रममा छ। वैदेशिक रोजगारीमा जानेको संख्या ८० लाखभन्दा माथि भएको आकलन गरिन्छ।

खाडीमा भेटौंला: विद्यार्थीमा हुर्किएको मनोविज्ञान सामान्य होइन, समयको ऐना हो। हामीले कस्तो देश निर्माण गर्‍यौं ? देश किन यस्तो भयो ? शिक्षा रोजगारीको अवसर देशले दिन सकेन, हामी कहाँ चुक्यौं ? विद्यार्थीले आफ्नो कहालीलाग्दो भविष्य सम्झेर आँसुको मसीले लेखिएको समाजको जल्दोबल्दो दस्तावेज हो, खाडीमा भेटौंला भन्ने हरफ। देशमा गरिखाने वातावरण नहुनुमा दोषी को ? खेतबारी बाँझै राखेर श्रम, पसिना र रगत पोखेर अर्काकै खोरिया किन मलिला हुन्छन् ? देश रुखो पारेर परदेश मलिलो बनाउने नीति कसले अवलम्बन गर्‍यो ? बलिया र भरपर्दा पाखुरी विदेश पठाएर स्वदेश जीर्ण बनाउने नीतिको पुनरावलोकन अब पनि नगर्ने ? युवा पुस्ताले आशाको सम्प्रेषण गर्नु पर्नेमा किन निराशा पोखे ? खाडी निराशा हो, आशा जापान, कोरिया, क्यानडा, अस्ट्रेलिया, अमेरिका, जर्मनी, बेलायतलगायत देश हुन्। तर ती देशमा कति छन् नेपाली ? समग्रमा जो जहाँ भए पनि परदेश आशाको उज्यालो होइन। आशा देशमै खोज्नु पर्छ। अन्यथा देश संकटग्रस्त बन्नेछ।

हाम्रो शिक्षामा खोट: हाम्रो शिक्षाले देशभक्ति सिकाउन किन सकेन ? नैतिकताको पाठ पढाउन किन कन्जुस्याइँ गर्‍यो ? श्रम, सीप र साधना भन्ने शिक्षा किन पाठ्यक्रममा राख्न सकेनौं ? डा. युवराज संग्रौलाले भनेझैं ‘५० हजारको मोबाइल बोक्ने र तीन किलोमिटरका लागि पाँच लाखको मोटरसाइकल चढ्ने युवा देशमा केही छैन र केही भएन किन भन्छ ?’ विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन सके सुन फल्छ भन्न केले रोक्यो ? स्वदेशमा श्रम गरौं भनेर स्वरोजगारमूलक शिक्षा, सीप, तालिम र प्रविधि दिन नसक्नुको पछाडि कमजोरी के ? शैक्षिक नीति र पाठ्यक्रम निर्धारणमा समस्या आयो कि ? शिक्षक–विद्यार्थीले अनावश्यक राजनीति गरेर शिक्षालय बर्बाद भए ? प्रश्न शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता, नेताहरू र बौद्धिक प्राज्ञिक सबैले आफैंलाई पनि गर्ने कि ?

वैदेशिक रोजगारका बेफाइदा: वैदेशिक रोजगारी अल्पकालीन व्यवस्था हो। जसको पुष्टि कोरोनाकालमा सात लाख मान्छेले रोजगारी गुमाएर देश फर्केको तथ्यांकले गर्छ। वैदेशिक रोजगारीमा जाँदा पारिवारिक समस्या, बूढाबूढी बाबुआमा र अशक्त परिवारका सदस्यको बिचल्ली, ज्यान जोखिमको खतरा, बिदाको समस्या, बिमाको समस्या, स्वास्थ्यको समस्या, रोजगारीको पनि समस्या, दक्ष र सीप भएका जनशक्ति श्रमिकको स्वदेशमा अभाव विदेशमा असुरक्षा, अभाव, अमर्यादा, न्यून ज्यालाको समस्या, मानव तस्करी, मानवताको अभाव आदि छन्। यदि विश्वमा कुनै रोगव्याधि, युद्ध, दैवीप्रकोप, प्राकृतिक विपत्तिजस्ता कुरा भए भने नेपालीले रोजगारी गुमाउने निश्चित छ। उता रोजगारी गुमाउने र यता आफ्ना जमिन बाँझो रहने स्थिति आउँछ। विदेश गएको पुस्ता र तिनका छोराछोरी नेपाल नआउने समस्या पनि उस्तै छ। विदेश जाने लर्को रोक्ने कसले ? स्वदेशमा रोजगारी र गुणस्तरीय शिक्षा र स्वास्थ्यको वातावरण कहिले बन्छ ? खाडीमा भेटौंला भन्ने भविष्यलाई नेपालमै बस भन्ने जवाफ राज्यले कहिले ग्यारेन्टी गर्छ ?

सन्देश: गाउँ रित्तिएर बजार भरिएको छ। अब बजार पनि रित्तिएर देश रित्तिने तरखरमा छ। गरी खाने र गर्न सक्ने जनशक्ति बलका दृष्टिले विद्या र सीपका दृष्टिले देशभित्र कम हुनु र बाहिर धेरै जानुले देश खोक्रो बन्दै गरेको थाहा हुन्छ। देशभित्रै गरिखाने वातावरण बनाउने सरकार र पार्टीहरू उदासीन छन्। देशको नीति निर्माण तहमा बसेका दल, नेता उच्च पदस्थलाई रोजगारी र शिक्षा भन्दै विदेश जाने लर्को देखेर जबसम्म कटक्क मन खाँदैन तवसम्म देश दुखिरहन्छ। -अन्नपूर्णपोष्टबाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img